
बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलअन्तर्गत आज (शनिबार) विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ ।
क्वार्टर फाइनल चरणमा एपीएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा रहेको संकेत दिएको थियो । त्यस्तै, आर्मीले आरएस पोखरालाई ६–० गोलले हराउँदै आफू पनि उपाधि दाबेदार टोली भएको प्रमाणित गरेको हो ।
दुबै टोलीले अहिलेसम्म गोल व्योहोरेका छैनन् । यसअघि पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ । आजको खेलको विजेता टोलीले फाइनलमा पुलिससँग उपाधिका लागि भिड्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

























