
विराटनगर । मौसम राम्रोसँग खुलेपछि पूर्वी नेपालका पर्यटकीय तथा धार्मिक स्थलहरूमा आन्तरिक पर्यटकहरूको उल्लेख्य चहलपहल बढेको छ ।
पहाडी क्षेत्रका मनमोहक डाँडाहरू, धार्मिक आस्थाका केन्द्रहरू र तराईका रमणीय गन्तव्यहरू यतिबेला घुमफिर गर्ने र प्राकृतिक सुन्दरतामा रमाउनेहरूको रोजाइमा परेका छन् ।
पूर्वी नेपालको सबैभन्दा ठूलो धार्मिक आकर्षणको केन्द्र ताप्लेजुङको पाथीभरा देवी मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ । यो शक्तिपीठमा सफा मौसमको फाइदा उठाउँदै देशका विभिन्न भागबाट भक्तजनहरू आइरहेको पाथीभरा क्षेत्र संरक्षण समितिका राजेन्द्र महतले बताए । मन्दिरसम्मको यात्रामा कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्यावलोकन गर्न पाउनुले यात्रालाई थप रोमाञ्चक बनाएको छ ।
यसैगरी अर्को आकर्षक पर्यटकीयस्थल इलाममा पनि आन्तरिक पर्यटकको चाप बढेको छ । सूर्योदयको स्वर्णिम दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा बिहानैदेखि पर्यटकहरूको लर्को लाग्ने गरेको छ । स्थानीय पर्यटन व्यवसायी एकराज घिमिरेका अनुसार दिनहुँ सूर्योदय अवलोकन गर्न आउनेहरु बढिरहेका छन् ।

खासगरी शनिबार र अरु सार्वजनिक बिदाका दिनमा बढी संख्यामा पर्यटक आउने गरेको उनको भनाइ छ । फराकिलो चिया बगानको हरियालीमा सेल्फी लिने र पारिवारिक पिकनिक मनाउनेहरूको भिडले कन्याम पनि गुलजार छ । स्थानीय चिया, अकबरे खुर्सानी जस्ता स्थानीय वस्तुको व्यापारमा समेत उत्साह छाएको कन्यामका टेकराज गिरी बताउँछन् ।
यसैगरी, गर्मीबाट राहत र तराईको दृश्यपानका लागि भेडेटार सधैं पहिलो रोजाइमा पर्छ । धनकुटा र सुनसरीको सिमानामा अवस्थित यो हिल स्टेशनबाट देखिएको सप्तकोशी नदी र तराईका फाँटहरूको मनोरम दृश्यले पर्यटकलाई लोभ्याएको छ ।
सुननसरीको धरान उपमहानगरपालिकामा पार्ने धार्मिक र सांस्कृतिक संरचनाहरु पनि पर्यटनको केन्द्र बनेको छ । बुढासुब्बा, दन्तकाली, विजयपुरस् यी धार्मिक स्थलहरूमा पूजाअर्चना गर्न आउनेहरूको संख्या बढेको छ ।
यस्तै, कोशी र कोकाहा नदीको सङ्गमस्थलमा अवस्थित पौराणिक धार्मिक तीर्थस्थल बराहक्षेत्रमा सफा मौसमले गर्दा तीर्थयात्रीको संख्या बढेको छ । हिन्दु धर्मावलम्बीहरूका लागि यो क्षेत्रको विशेष महत्व छ ।

सुनसरीकै कोशी टप्पु वन्यजन्तु आरक्ष मा दुर्लभ अर्ना र चराहरूको अवलोकनका लागि प्रकृतिप्रेमीहरूको आगमन सुरु भएको छ ।
झापाका धार्मिक स्थलहरू किच्चकबध र अर्जुनधारा धाममा पनि धार्मिक पर्यटकहरूको उपस्थिति बाक्लो देखिएको छ । खासगरी धार्मिक पर्यटकहरु आउने क्रम बढिरहेको अर्जुनधाराका कुमार भट्टराई बताउँछन् ।
पूर्वी नेपालका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको यसरी घुमफिर बढ्नुले पर्यटन व्यवसायमा नयाँ ऊर्जा सञ्चार गरेको छ । होटल व्यवसायीहरूले ‘अकुपेन्सी’ बढेको बताएका छन् भने स्थानीय होमस्टेहरू पनि भरिभराउ छन् ।
प्रकृति, संस्कृति र आस्थाको यो यात्राले कोशी प्रदेशको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको इलामका पर्यटनकर्मी सुरेश अधिकारी बताउँछन् ।
तस्बिरहरुः टेकराज गिरी

























