
काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला भलिबल टोली काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा नेपालले आज (आइतबार) कीर्गिस्तानसँग खेल्दैछ ।
श्रीलंकाको कोलोम्बोमा जारी प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
नेपालले माल्दिभ्समाथि ३–० को एकपक्षीय सेटमा जित दर्ता गर्यो। नेपालले पहिलो सेट २५–११, दोस्रो सेट २५–३ र तेस्रो सेट २५–५ ले आफ्नो पक्षमा पारेको थियो ।
नेपालले अब उपाधिका लागि कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । कीर्गिस्तानले पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपाल यसअघि लिग चरणमा कीर्गिस्तानसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । नेपालका लागि लिग चरणको हारको बदला लिने र उपाधि जित्ने यो ठूलो अवसर हो ।

























