
झापा । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको उपाधिका लागि २ विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ क्लब) खेल्ने भएका छन् ।
महिला गोल्डकपमा देशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता झापाले पहिलो पटक आयोजना गरेको हो ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।
दुवै विभागीय टोली उपाधि नजिक पुग्ने क्रममा पुलिसले अर्को ‘ए’ डिभिजन क्लब संकटा र एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
शनिबार एपीएफले आर्मीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो । खेलको निर्धातिर समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
त्यस्तै, पुलिसले शुक्रबार संकटालाई २–० को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको थियो । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् ।
त्यसैगरी, व्यक्तिगत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ । छ ।

























