‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २३, आइतबार १५:४५

विराटनगर । विराटनगरमा पहिलोपटक सञ्चालन गर्न लागिएको ‘स्वर्णबिन्दु प्राशन कार्यक्रम’ का लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आज (आइतबार) तालिम दिइएको छ । अभियान प्रभावकारी बनाउन स्वयंसेविकाहरुलाई आवश्यक जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

कात्तिक २५ गतेदेखि सुरु हुने यो कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाका १९ वटै वडाका बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाइनेछ । एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी पहिलो चरणमा करिब एक हजार बालबालिकालाई स्वर्णबिन्दु प्राशन दिने तयारी गरिएको छ ।

Advertisement

आयुर्वेद चिकित्सकहरुका अनुसार स्वर्णबिन्दु प्राशन सुनको भष्म, आयुर्वेदिक औषधि मिसाएको घिउ र महको मिश्रणबाट तयार गरिन्छ र प्रत्येक महिनाको पुष्य नक्षत्रको दिनमा खुवाइने गरिन्छ । यसले बालबालिकाको स्मरण शक्ति, वाणी, पाचनशक्ति, शारीरिक बल र रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिएको छ ।

कविराज निरीक्षक डा. वैजनाथ साहका अनुसार यो परम्परागत आयुर्वेदिक औषधि “स्वर्ण प्राशन” वा “सूवर्ण प्राशन” भनेर पनि चिनिन्छ । उमेरअनुसार बालबालिकालाई दुईदेखि पाँच थोपा दिइन्छ । यसमा प्रयोग हुने ब्राह्मी जडिबुटीले मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

कार्यक्रममा सहभागी स्वास्थ्य स्वयंसेविकालाई आफ्ना–आफ्ना वडाका सबै बालबालिकालाई अभिलेखिकरण गरी अनिवार्य रूपमा स्वर्णबिन्दु प्राशन खुवाउन आग्रह गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रका प्रमुख डा. राम प्रवोध चौधरी, कविराज निरीक्षक डा। वैजनाथ साह, मिसन ढकाल, र धनञ्जय जयसवाल लगायतको उपस्थिती थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.