
विराटनगर । पथरीशनिश्चरेमा भएको ‘दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि सिरहाको सहलेस फुटबल क्लबले जितेको छ ।
आयोजक पथरी ११ फुटबल क्लबलाई हराउँदै पाहुना टोली सिरहाले उपाधि जितेको हो । सिरहाले आयोजकलाई २–१ गोलअन्तरमा पराजित गर्दै फाइनल जितेको थियो ।
खेलको सुरुवातमा आयोजकले गोल गर्दै अग्रता लिए पनि मध्यान्तरपछि सिरहाले खेललाई आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।
सिरहाको जितमा जय गुरुङ र समीर तामाङले गोल गर्दै टोलीलाई विजयी बनाए भने एक मात्र सान्त्वना गोल आयोजकका लागि धिरेन क्षेत्रीले गरे ।
खेलको प्लेयर अफ द म्याच सिरहाका जय गुरुङ भए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी युकेश तामाङ, उदयमान खेलाडी समीर क्षेत्री, सर्वाधिक गोलकर्ता विल्सन रिचार्ड भए ।
प्रतियोगिताको विजेता टोली सिरहाले ५ लाख रुपैयाँ र उपविजेता आयोजकले २ लाख ५० हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्यो ।

























