
बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपले टिकट बिक्रीबाट सर्वाधिक रकम आम्दानी गरेको छ । प्रतियोगिता अवधिभर दर्शकको उल्लेख्य उपस्थिति र रंगशाला भरिभराउ रहँदा आयोजकले कीर्तिमानी आम्दानी गर्न सफल भएको हो ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर कुल ५८ लाख तीन हजार रुपैयाँको टिकट बिक्री भएको छ।
खेल चरणअनुसार आम्दानी
फाइनल खेल: ३० लाख दुई हजार ४०० रुपैयाँ
अन्तिम सेमिफाइनल: ११ लाख पाँच हजार ५००
पहिलो सेमिफाइनल: पाँच लाख ५० हजार ७००
क्वार्टर फाइनलका चार खेल: ११ लाख ४४ हजार ४००
उद्घाटन खेल: दुई लाख ८८ हजार
प्रतियोगितामा महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीहरूको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढेको अध्यक्ष थोप्राले बताए । उनले भने, “दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ। महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो।” टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिने उनले बताए ।
प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्दा उपविजेता बनेको एपिएफलाई १० गोल अन्तरले हराउँदै पुलिसले १० लाख १० हजार रुपैयाँ पुरस्कार हात पारेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता थियो ।

























