
विराटनगर । विराट गोल्डकप फुटबलको नवौं संस्करणमा करिब ३ लाख रुपैयाँ नाफा भएको छ । सातौं र आठौं संस्करणमा लगातार ठूलो रकम नोक्सानी बेहोरेको गोल्डकपले नवौंमा भने मुनाफा कमाएको हो ।
गतवर्ष फागुन १९ देखि २८ गतेसम्म विराटनगर सहिद मैदानमा सम्पन्न गोल्डकपमा २ लाख ९४ हजार रुपैयाँ बढी नाफा भएको गोल्डकप आयोजक समितिले जनाएको छ । समितिका एक पदाधिकारीका अनुसार गोल्डकपमा १ करोड ७ लाख २१ हजार रुपैयाँ बराबरको आम्दानी भएको छ ।
त्यसैगरी, विभिन्न शीर्षकमा १ करोड ४ लाख २६ हजार रुपैयाँ बढी खर्च भएको छ । यद्धपि, बजारमा केही रकम अझैपनि संकलन हुन बाँकी रहेको उनले बताए ।
गोल्डकप समितिका संयोजक नवीन रिजालका अनुसार गोल्डकपको सम्पूर्ण आयव्ययबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइने छ । उनले प्रदेश सरकार र खेलकुद बोर्डबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गरे ।
फागुन २८ गते भएको गोल्डकपको उपाधि भिडन्तमा थ्री स्टार क्बलले उपाधि चुमेको थियो । फाइनलमा थ्री स्टारले डार्बी क्लब ललितपुरको चर्च ब्वाईज युनाइटेडलाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै दोस्रोपटक गोल्डकपको उपाधि चुमेको थियो ।
उपाधि हात पार्ने क्रममा थ्री स्टारका लागि खेमराज श्रेष्ठ र दिपेश घलेले गोल गरेका थिए । थ्री स्टारले उपाधिसँगै ११ लाख रुपैयाँ र उपविजेतामा सीमित बनेको चर्च ब्वाईजले ५ लाख रुपैयाँ हात पारेको थियो ।
यसअघि, थ्री स्टारले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोल्डकपको पाँचौ संस्करण पराजित गर्दै उपाधि चुमेको थियो । गोल्डकपको सातौं र आठौं संस्करणमा घाटामा गएको थियो ।
गोल्डकप ट्रष्टले आयोजना गरेको आठौं संस्करणमा २२ लाख ६२ हजार रुपैयाँ नोक्सानी भएको थियो । त्यसैगरी, सातौं संस्करणमा करिब ८७ लाख रुपैयाँ बराबरको नोक्सानी आयोजक समितिले बेहोरेको थियो ।

























