
विराटनगर । स्थानीय महिलाहरूको आर्थिक सशक्तीकरणमा क्रियाशील कृपालु महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगर–८ को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आगामी वर्षका लागि डिजिटल सेवा विस्तार र महिला उद्यमशीलता विकास जस्ता महत्त्वाकांक्षी योजनाहरू सर्वसम्मतिले पारित गरेको छ ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले वर्षभरि महिला लक्षित बचत सङ्कलन, नियमित ऋण सेवा प्रवाह र सीप अभाव भएका विपन्न महिलाहरूका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिएको थियो ।
संस्थाकी अध्यक्ष लिला केसीले साधारणसभालाई सम्बोधन गर्दै सदस्यहरूको निरन्तर विश्वास र सक्रिय सहभागिताले नै संस्थालाई आजको उपलब्धिमूलक अवस्थामा पुर्याएकोमा जोड दिइन् । उनले आगामी दिनमा कृपालु महिला सहकारीलाई पूर्णरूपमा प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई अझ सरल र प्रभावकारी बनाउने दृढता व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर–८ का वडा अध्यक्ष राम पोखरेलले सहकारी संस्थाहरू स्थानीय विकासको मेरुदण्ड रहेको बताउँदै, महिला सहकारीहरूले आर्थिक सशक्तिकरणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याएकोमा प्रशंसा गरे ।
विशिष्ट अतिथि गणेश पोखरेलले पनि महिलालाई आर्थिक रूपमा सबल बनाउने सहकारीको प्रयासको सराहना गर्दै आर्थिक रूपमा सक्षम महिलाले मात्र सक्षम परिवार र समृद्ध समाजको आधारशिला निर्माण गर्ने धारणा राखे । सभाले सेवाको डिजिटलकरणसँगै महिला उद्यमशीलता विकास, सीप अभिवृद्धि तालिम, र संस्थागत सुशासन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
यसै क्रममा संस्थाले उत्कृष्ट ऋणी अन्जना सेडाई, सर्मिला खतिवडा, भगवती बस्नेत, तथा सेयर र बचत धितो तर्फ मुना बोहोरा र मनुजा कार्कीलाई सम्मान तथा पुरस्कृत गरेको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सचिव चुडा ठकुरीले गरेकी थिइन्।

























