
काठमाडौं । मार्क वाटको विष्फोटक ब्याटिङमा शतकीय इनिङ्सको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित दर्ता गरेको छ। कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य कर्णालीले मात्र १२.२ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो ।
वाटको ब्याटबाट छक्काको वर्षा
कर्णालीको जितमा ओपनर मार्क वाटले अविजित रहँदै ११४ रनको विष्फोटक शतक बनाए । उनले मात्र ४४ बलको सामना गर्दै ६ चौका र १२ छक्का प्रहार गरे, जसमध्ये बाउन्ड्रीबाट मात्रै ९६ रन जोडेका थिए ।
ओपनिङमा आएका वाटले पहिलो विकेटका लागि प्रियांक पान्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। पहिलो खेलमा ९० रन बनाएका पान्चल आज १२ रनमा आउट भए ।
त्यसपछि विलियम बोसिस्टोसँग मिलेर वाटले अर्को उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म डोर्याए । बोसिस्टोले २० बलमा अविजित २९ रनको योगदान गरे। बलिङमा लुम्बिनीका शेर मल्लले मात्र १ विकेट लिए ।
लुम्बिनीको सामान्य योगफल
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । लुम्बिनीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन जोडे पनि अर्धशतक बनाउन चुके। उनले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेपछि कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भए ।
पुछारमा रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा १ चौका र ३ छक्काको मद्दतले अविजित २८ रनको योगदान गरे । यस्तै, जेजे स्मिथले २३ र डार्शी सटले १९ रन जोडेका थिए । कर्णालीका लागि पहिलो १० ओभरमा नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १-१ विकेट लिए ।
आजै हुने दोस्रो खेल विराटनगर किंग्स र काठमाडौं गुर्खाजबीचको खेल केही समयमा सुरु हुँदैछ ।

























