
काठमाडौं । नेपाल महिला कबड्डी टोली बङ्गलादेशको मिरपुरमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ अन्तर्गत शनिबार भएको निर्णायक खेलमा इरानसँग फराकिलो अन्तरले पराजित भएपछि नेपाल मेडलको दौडबाट बाहिरिएको हो ।
राउन्ड रोबिन शैलीमा सञ्चालित समूह चरणमा नेपालले खेलेका पाँच खेलमध्ये तीन खेलमा मात्र जित हासिल गर्न सक्यो । शनिबार भएको खेल सेमिफाइनल प्रवेशका लागि नेपालका लागि महत्त्वपूर्ण थियो । तर, नेपाललाई ३९-११ को फराकिलो अन्तरले हराउँदै इरान समूहमा दोस्रो स्थान हासिल गरी अन्तिम चारमा पुगेको छ ।
इरानले खेलमा सुरुदेखि नै पूर्ण प्रभुत्व जमाएको थियो। खेल सुरु भएको पाँच मिनेटभित्रै इरानले नेपाललाई ‘अलआउट’ गराएको थियो । प्रारम्भमै १४-१ को अग्रता बनाएको इरानले पहिलो हाफको समाप्तिसम्म २४-३ को सानदार अग्रता कायम गरेको थियो । दोस्रो हाफमा नेपालले रणनीतिक परिवर्तन गरी अंक जोड्ने प्रयास गरे पनि अपेक्षित सफलता हात पार्न सकेन र अन्ततः ३९-११ ले पराजित भयो ।
नेपाल समूहमा चाइनिज ताइपेई र इरानसँग पराजित भएको थियो। यद्यपि, नेपालले जन्जिबार, केन्या र पोल्यान्डलाई भने विशाल अन्तरले पराजित गरेको थियो । यता, समूह ‘ए’ बाट भने भारत र आयोजक बङ्गलादेशले विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । नेपाली टोली अब मंगलबार स्वदेश फर्किने तालिका रहेको छ ।

























