
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजमाथि ५ विकेटको सानदार जित निकालेको छ । आफ्नो दोस्रो खेल जित्दै विराटनगर किंग्सले जितको यात्रालाई निरन्तरता दिएको छ ।
काठमाडौंले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्याे ।
विराटनगर किंग्सले लक्ष्य पछ्याउने क्रममा विस्फोटक सुरुवात गरेको थियो । जर्ज मुन्सीले १६ बलमा ५ चौका र २ छक्कासहित ३६ रन बनाए । लोकेश बमले १० बलमा १४ रन जोडे । अनुभवी ब्याटर मार्टिन गप्टिलले १९ बलमा २५ रन र नरेन भट्टले ३० बलमा २४ रन, वसिर अहमदले १९ रन, सन्दीप लामिछाने ९ र शुभम रन्जनेल ६ रनको योगदान दिँदै टोलीलाई विजयी बनाए ।
काठमाडौंका बलर शहाब आलमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट, करण केसी, गेरहार्ड इरास्मस र सन्तोष यादवले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रनको चुनौती प्रस्तुत गरेको थियो।
यो जितसँगै विराटनगर किंग्सले अंक तालिकामा ४ अंक जोडेको छ । २ खेल जित्दै विराटनगर ४ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम पनि २ खेल जित्दै ४ अंकका साथ शीर्ष पहिला स्थानमा छ ।
तालिकाको तेस्रो स्थानमा काठमाडौं गोर्खाज ३ खेलमा २ जिते १ हारका साथ २ अंक बटुलेको छ । लुम्बिनी २ खेलमा १ जित १ हारका साथ २ अंक बटुल्दै चौथो ।
चितवन पनि २ खेलमा १ जित १ हारका साथ २ अंक बटुल्दै पाँचौँ स्थानमा छ भने कर्णाली २ खेलमा १ जित १ हारका साथ २ अंक बटुल्दै छैटौँ, १ खेल खेलेको जनकपुर हार्दै अंकविहीन भएर सातौँ र पोखरा २ खेलमा पराजित भएर अंकविहीन हुँदै तालिकाको अन्तिममा रहेको छ ।

























