
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)देखि १ सय रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै नयाँ विशेषतासहितको नोट चलनचल्तीमा ल्याइएको जनाएको छ । बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको नोट साबिककै आकार तथा रङको छ ।
नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार दृष्टिविहीनहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको छ । त्यस्तै, बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको नोटमा सुरक्षाका लागि २ मिमी चौडा भएको र सिधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो छ ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ उल्लेख छ ।


























