
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजले चितवन राइनाेजलाई पराजित गरेकाे छ । बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हाे ।
पाँच खेल खेलिसकेको काठमान्डु तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । विराटनगर समान अंक भए पनि रनरेटमा काठमान्डु पछि छ ।
काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।
चितवनका लागि देव खनाल र रबि बोपाराले समान २१ रन बनाए भने सोहे तनविरले १८ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंका लागि रासिद खानले १.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान दुई/दुई विकेट लिए ।
आजको खेलमा दुई विकेट लिएका करण र मिलिन्दको विकेट संख्या ९ पुगेको छ । यी दुई खेलाडीसँगै विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरशप्चिमा हर्मित सिंहले पनि समान ९ विकेट लिएका छन् ।

























