
विराटनगर । विराटनगरमा १५ औँ संस्करणको ‘प्याब्सन स्पोर्ट्स मिट’ सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले विभिन्न खेलकुदलाई समेटर निरन्तर रुपमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत फुटबल खेलमा कक्षा १२ तर्फ ६ वटा विद्यालय विजयी भएका छन् ।
विराटनगरको सहिद मैदानमा भएको खेलमा सेन्ट जोसेफ स्कुल, हरैँचा मोडल, ब्राइटफ्युचर, पशुपति, भृकुटी र रेडस्टार स्कुलले जित निकालेको छ ।
प्रतियोगिताको पहिलो खेलमा सेन्ट जोसेफ स्कुलले एभरेष्ट स्कुललाई ४–१ गोलमा पराजित गर्यो । म्यान अफ द म्याच सेन्ट जोसेफका आशिष दास भए ।
दोस्रो खेलमा हरैँचा मोडल स्कुलले द राइजिङ स्कुललाई ३–१ गोलले पराजित गर्यो । हरैंचा मोडलका लक्ष्मी विश्वास ‘म्यान अफ द म्याच’ भए । तेस्रो खेलमा ब्राइटफ्युचर स्कुलले शिक्षासदन स्कुललाई ३–१ गोलमा हरायो । म्यान अफ द म्याच ब्राइटफ्युचरका आयुष न्यौपाने भए ।
त्यस्तै, आजै भएको चौथो खेलमा पशुपति स्कुलले बेलबारीको सगरमाथा स्कुललाई २–० गोलमा पराजित गर्यो । पशुपतिका विधान मगर खेलको म्यान अफ द म्याच भए ।
पाँचौँ खेलमा भृकुटी स्कुलले नोबेल एजुकेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच भृकुटीका सुशान्त खड्का भए ।
छैटौँ खेलमा पथरीको रेडस्टार स्कुलले सुनगाभा स्कुललाई ३–१ गोलले पराजित गर्यो । खेलमा रेडस्टारका सौगात राई म्यान अफ द म्याच घोषित भएको आयोजकले जनाएको छ ।

























