
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।
तेस्रो स्थानमा रहेको विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनीले चौथो स्थानमा उक्लिँदै प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको छ ।
लुम्बिनीको जितमा ब्याटिङतर्फ डार्सी सर्ट नायक रहँदा बलिङमा शेर मल्लले उत्कृष्ट प्रदर्शन गरे । १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि डार्सीले ५७ रनको योगदान दिए । यस्तै, निरोशन डिक्वालाले २९, सन्दीप जोराले २४ र दिलीप नाथले १६ रनको योगदान दिए । जसको मद्दतले १७ ओभर ४ बलमै ५ विकेट गुमाएर लुम्बिनीले लक्ष्य पूरा गर्यो ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले २–२ विकेट लिँदा बसिर अहमदले १ विकेट लिए ।
यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । जसमा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको थियो ।

























