
काठमाडौँ । भारतले नेपालमा ठूला दरका भारतीय नोटहरूको कारोबारका लागि अनुमति दिएको छ। भारतीय रिजर्भ बैंकले भारतको केन्द्रीय राजपत्रमा सूचना प्रकाशित गर्दै रु १०० भन्दा ठूला दरका नोटहरूको कारोबारमा रहेको प्रतिबन्ध हटाएको हो।
सन् २०१६ मा भारतमा नोटबन्दी भएपछि नेपालमा १०० दरका भारतीय नोटहरूबाहेक अन्य ठूला नोटहरूको कारोबार र सटहीमा रोक लगाइएको थियो। नयाँ सुविधा: केन्द्रीय गजेटमा प्रकाशित सूचनाअनुसार, नेपाल वा भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले रु १०० भन्दा माथिका दरका नोटहरू कुल २५ हजार भारतीय रुपैयाँसम्मको सीमामा साथमा बोक्न पाउनेछन्।
अब भारतमा चलनचल्तीमा रहेका ५००,२००० लगायत सबै प्रकारका नोटहरू नेपालमा पनि चलाउन पाउने अनुमति प्राप्त भएको छ। यद्यपि, भारतीय पर्यटकले नेपाल आउँदा साथमा बोक्न पाउने २५ हजार भारतीय रुपैयाँ (भारु) सम्मको सीमालाई भने यथावत् नै राखिएको छ।
ठूला नोटहरू बोक्न पाउने भएपछि दुई देशबीचको भुक्तानी तथा कारोबार सहज हुने अपेक्षा गरिएको छ। नेपाली भारतमा काम गरेर फर्किने नेपालीहरूलाई पनि अब ठूला दरका नोटहरू ल्याउन र नेपालमा आएर साट्न सकिने बाटो खुला भएको छ।
केही समयअघि भारतीय रिजर्भ बैंकले नेपाली व्यवसायीहरूलाई भारतीय बैंकमार्फत् ऋण दिने बाटो खुला गरेको थियो। आफ्नो मुद्राको प्रभाव बढाउन भारतले अहिले यो अर्को महत्त्वपूर्ण कदम लिएको हो। पाकिस्तान र बङ्गलादेशका नागरिकले भने नेपाल आउँदा यो दरका (१०० भन्दा ठूला) नोट लिएर आउन पाउँदैनन्।

























