
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा तीन टोली पुगेका छन् । एक स्थानका निम्ति चार टिम चर्को प्रतिस्पर्धामा छ ।
सुदूरपश्चिमले लिग चरणका दुई खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको थियो । बिहीबारको दुई खेलपछि काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफको यात्रा तय गरे ।
प्रतियोगिताको दोस्रो संस्करण चलिरहँदा एनपीएलमा पहिलोपटक यी दुई टिमले प्लेअफ यात्रा तय गरेका हुन् । अघिल्लो सिजन विराटनगर र काठमण्डू दुवै टिम लिग चरणबाटै बाहिरिएका थिए ।
बिहीबार पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकालेपछि काठमाण्डू दोस्रो संस्करणको प्लेअफ पुग्ने दोस्रो टिम बन्यो ।
दोस्रो खेलले सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराउँदा विराटनगरले प्लेअफ यात्रा तय गर्यो । सुदूरपश्चिमले चितवनसँग हार व्यहोर्दा विराटनगरलाई अन्तिम खेलमा जित्नै पर्ने दबाब हुन्थ्यो । लिग चरणको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमविरुद्ध नै खेल्ने तालिका छ । तर सुदूरपश्चिमले अपराजित यात्रा तय गर्दा विराटनगरलाई फाइदा भयो ।
प्रतियोगिताको लिग चरणमा ६ खेल खेलेको सुदूरपश्चिम लिग चरणमा शीर्ष स्थानमा छन् । प्लेअफमा सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्नेछ । सुदूरपश्चिमले लिग चरणमा शीर्ष स्थान पक्का गरे पनि प्लेअफ पुगिसकेका काठमाण्डू र विराटनगरको स्थान भने निश्चित भइसकेको छैन । विराटनगरकाे खेलपछि स्थान टुङ्गाे लाग्नेछ ।

























