
विराटनगर । छिमेकी मुलुक भारतमा चिया उत्पादनमा आएको ठूलो गिरावटको फाइदा उठाउँदै नेपाली चियाको निर्यात उल्लेख्य मात्रामा बढेको छ । पछिल्लो समय चिया उत्पादनमा आएको सुधार र विश्व बजारमा अर्गानिक चियाको माग बढ्दा नेपाली अर्थोडक्स चियाले निर्यातमा उत्साहजनक अवस्था देखिएको छ ।
भारतीय चिया उत्पादन हुने मुख्य क्षेत्र पश्चिम बंगाल र आसाममा मौसम परिवर्तनका कारण उत्पादनमा भारी गिरावट आएको छ । ‘वर्ल्ड टी न्युज’ का अनुसार, भारतीय उत्पादनमा ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा नेपाली चियाको माग र मूल्य दुवै बढेको छ ।
भारतीय बजारमा उत्पादन कम भएपछि नेपाली चियाको मूल्य र माग दुवै बढेको इलामको सूर्योदय नगरका उद्यमी महेश शर्माको भनाइ छ । एक तथ्याङ्क अनुसार, उत्पादन घटेपछि नेपाली चियाको निकासी गत वर्षको तुलनामा ५२ प्रतिशतसम्मले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा मात्रै तीन अर्ब ८६ करोड रुपैयाँभन्दा बढी मूल्यको चिया निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४०.५ प्रतिशतले बढी हो । विशेषगरी पूर्वी पहाडी जिल्लाहरू इलाम, झापा, धनकुटा, तेह्रथुम, पाँचथरमा व्यावसायिक चिया खेती हुँदै आएको छ ।
नेपालको निर्यातजन्य चिया मुख्यतः अर्थोडक्स चिया हो, जसको करिब ९५ प्रतिशत विदेश निर्यात हुने गरेको छ । गुणस्तरमा ध्यान दि ने हो भने समुद्रपारका मुलुकमा चिया निर्यात अझ बढ्ने उद्यमी दिनेश चौधरी बताउँछन् ।
आर्थिक वर्ष २०७९–८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो । अमेरिका, नेदरल्याण्डस्, जर्मनी र जापानलगायतका तेस्रो मुलुकमा उच्च गुणस्तरको अर्गानिक प्रमाणित नेपाली चियाको माग राम्रो रहेको उद्यमीहरू बताउँछन् । यसले गर्दा किसानलाई दिने हरियो पत्तीको मूल्य पनि बढेको छ ।
उत्पादन र निकासी उत्साहजनक देखिए पनि नेपाली चियाले केही गम्भीर चुनौतीहरूको सामना गर्नु परिरहेको छ । नेपाली चियाको ठूलो हिस्सा (विशेषगरी सीटीसी चिया) भारतीय बजारमा निर्भर रहँदा भारतीय व्यापारीको नियन्त्रण कायम छ । यसले गर्दा नेपाली उत्पादनले उचित मूल्य नपाउने गुनासो यथावत् छ ।
नेपाली सीटीसी चियालाई भारतीय व्यापारीले दार्जिलिङ ब्रान्डमा मिसाएर निर्यात गर्ने गरेकाले नेपाली चियाको आफ्नै पहिचान खोसिएको गुनासो नेपाली उद्यमीहरुले गर्दै आएका छन् । अर्गानिक चिया उत्पादनको लागत महँगो हुने भए पनि यसको प्रमाणीकरण र प्रवर्द्धनमा सरकारले पर्याप्त सहयोग नगरेको किसानहरूको गुनासो छ ।
नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा दिगो रूपमा स्थापित गर्नका लागि नेपाल टी क्वालिटी फ्रम द हिमालयाज जस्ता ट्रेडमार्कको प्रवर्द्धन गर्न र गुणस्तरमा सुधार गरी भारतीय बजारको एकाधिकार तोड्न सरकार र उद्यमी दुवैको सक्रियता अपरिहार्य रहेको देखिन्छ ।

























