
विराटनगर । विराटनगरमा जारी ‘१५ औँ प्याब्सन स्पोर्ट्स मिट’ को दोस्रो दिनको खेल सकिएसँगै विराटनगरको एभरेस्ट स्कुल र सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमी तालिकाको शीर्ष स्थानमा रहेका छन् ।
प्रतियोगिताको सिनियरतर्फ (कक्षा १२) एभरेस्ट ४ स्वर्ण पदक र जुनियरतर्फ (कक्षा १० सम्म ) पूर्वाञ्चल २ स्वर्ण पदकका साथ समूहको शीर्ष स्थानमा रहेका छन् ।
कक्षा १२ को टेबल टेनिस छात्रछात्रामा एभरेस्ट स्कुलले उपाधि जितेको छ । छात्र सिंगलतर्फ एभरेस्टका सुशान्त मेहता प्रथम र एभरेस्टकै श्रेयन काफ्ले द्वितीय भए । ब्राइट फ्युचर स्कुलका इन्द्रकुमार श्रेष्ठ र एभरेस्टका अभि श्रेष्ठ तृतीय भए ।
छात्रा सिंगलतर्फ एभरेस्ट स्कुलकी प्रसिद्धी काफ्ले प्रथम, ब्राइट फ्युचरकी एनी पौडेल द्वितीय भए । ब्राइट फ्युचरकै युनिसा राई र एभरेस्टकी संकोजिया अधिकारी तृतीय भए ।
छात्र डबलतर्फ विराटनगरको एभरेस्टका सुशान्त मेहता र श्रेयन काफ्लेको जोडी प्रथम भयो । ब्राइट फ्युचरका इन्द्र श्रेष्ठ र एलन दाहालको जोडी द्वितीय भयो भने पशुपति स्कुलका इमोन प्याकुरेल र अनमोल कार्की तथा एभरेस्ट पथरीका असिम राई र अभि श्रेष्ठको जोडी तृतीय भए ।
छात्रा डबलतर्फ एभरेस्टकी प्रसिद्धी काफ्ले र सम्पुजिया अधिकारीको जोडी प्रथम भए । ब्राइट फ्युचरकी एनी पौडेल र युनिसा राईको जोडीले द्वितीय भने सिद्धार्थ स्कुलकी स्नेहा सिवा र अपेक्षा भुजेलको जोडी तृतीय भए ।
त्यस्तै, कक्षा १० सम्म (जुनियर) को टेबल टेनिस छात्र सिंगलतर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, एभरेस्टका सक्षम बस्नेत द्वितीय तथा बुढानीलकण्ठ स्कुलका रुपेश श्रेष्ठ र सेन्ट जोसेफ स्कुलका आकार श्रेष्ठ तृतीय भए ।
छात्रा सिंगलतर्फ एभरेस्टकी कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी द्वितीय तथा एभरेस्टकी आश्ना कटुवाल र सेन्ट जोसेफ स्कुलकी अनोखी साह तृतीय भए ।
त्यसैगरी, ८ सय मिटर दौड छात्रातर्फ सिद्धार्थ स्कुलकी महिला लिम्बूले स्वर्ण, एभरेस्टकी युनिशा बुढाथोकीले रजत र मदर टेरेसाकी पूजा यादवले कास्य पदक जिते ।
ज्याभलिन थ्रो छात्रतर्फ अविन दासले स्वर्ण, मुनाल आदर्शका सुरज ताजपुरियाले रजत र कोश विद्या मन्दिरका ज्योतिष मण्डलले कास्य पदक जिते ।
यस्तै, सटपुट छात्रातर्फ मुनाल आदर्शकी खुसी शर्माले स्वर्ण, इन्द्रपुर सेकेन्डरी स्कुलकी आयुष्मा राईले रजत र पूर्वाञ्चल एकेडेमीकी रीतिमा थापाले कास्य पदक जिते ।



















