५ करोड लगानीको ‘विराट स्पोर्ट्स जोन’ मंसिर २७ देखि सञ्चालनमा आउने

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार १७:०१

विराटनगर । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्यसहित ५ करोड रुपैयाँको लगानीमा विराटनगरको पुष्पमार्गमा  निर्माण गरिएको विराट स्पोर्ट्स जोन मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

३० कठ्ठा क्षेत्रफलमा विस्तार गरिएको यो संरचनाले प्रदेशको खेलकुद क्षेत्रमा नयाँ मानक स्थापित गर्ने उद्देश्य राखेको छ । अध्यक्ष हरि बजगाईंको नेतृत्वमा रहेको व्यवस्थापन समितिले विराट स्पोर्ट्स जोनलाई सुरक्षित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

‘महिला खेलाडीलाई आकर्षण गर्ने मात्रै होइन, उनीहरुको खेल स्तरलाई विकास गर्ने उद्देश्यका साथ निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । क्रिकेट र फुटबलमा सुरुमा भर्ना भएका ५०–५० जना महिला खेलाडीलाई प्रशिक्षण वापतको भर्ना र मासिक शुल्क पूर्ण रुपमा निःशुल्क गरिने छ,’ अध्यक्ष बजागाईंले भने ।

स्पोर्ट्स जोनभित्र फुटसल, क्रीकसल, स्केटिङ, गो-कार्ट, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिसजस्ता खेलकुद गतिविधि नियमित रूपमा सञ्चालनमा आउँदैछन् । यसबाहेक, अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमी यस स्पोर्ट्स जोनको प्रमुख आकर्षण हो ।

स्पोर्ट्स जोनले फुटबल, तेक्वान्दो र स्केटिङ प्रशिक्षण कार्यक्रमहरू पनि अनुभवी प्रशिक्षकहरूको निर्देशनमा व्यवस्थित रूपमा सञ्चालन गर्ने जनाएको छ । साथै, खेलकुदमैत्री वातावरण सृजना गर्न पूर्ण रूपमा शाकाहारी र स्वास्थ्य अनुकूल भोजन उपलब्ध गराउने क्याफे १००५ भेज सञ्चालनमा ल्याइएको छ ।

विराट स्पोर्ट्स जोनले भविष्यमा स्वीमिङ पुल र इन्डोर गेमिङ जोन लगायतका थप आधुनिक पूर्वाधार निर्माण गरी संरचनालाई व्यापक बनाउने दीर्घकालीन योजना अघि सारेको जानकारी पनि दिएको छ । ‘विराट स्पोर्ट्स जोन’का बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा जोनका अध्यक्ष हरि बजगाईं, सचिव नवराज काफ्ले, कोषाध्यक्ष राज ढकाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×