
काठमाडौँ। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल शनिबार हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे फाइनल खेल सुरु हुनेछ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान बनाएको हो। गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ।
लिग चरणमा भएको यी दुई टोलीबीचको भिडन्तमा भने सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो। नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको यस प्रतियोगिताको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ। उपविजेता टोलीले रु ५१ लाख, तेस्रो हुने टोलीले रु २५ लाख र चौथो टोलीले रु १५ लाख प्राप्त गर्नेछन्।



















