
विराटनगर । कोशी प्रदेशमा यो वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आएको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा करिब २० हजार मेट्रिक टन धान उत्पादन घटेको हो ।
निर्देशनालयका अनुसार गत वर्ष प्रदेशभर ११ लाख २२ हजार २२१ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष घटेर ११ लाख २ हजार ९४९ मेट्रिक टनमा पुगेको छ। यो कमी करिब १९ हजार २७२ मेट्रिक टन बराबर हो ।
कृषि विज्ञहरूका अनुसार रोपाइँका बेला खडेरी पर्नु र काट्ने बेलामा अत्याधिक वर्षा हुनु उत्पादनमा आएको गिरावटको मुख्य कारण हो । यसका साथै कीराको प्रकोप र केही क्षेत्रमा धानबाली छोडेर देखिएको वैकल्पिक रोजाइले पनि उत्पादकत्वमा असर पारेको छ ।
उत्पादनसँगै खेती गरिने क्षेत्रफल पनि थोरै घटेको निर्देशनालयले जनाएको छ। गत वर्ष २ लाख ७५ हजार २ सय ६८ हेक्टर क्षेत्रमा धान खेती भएकोमा यो वर्ष २ लाख ६९ हजार ६ सय ८४ हेक्टरमा मात्र खेती भएको थियो । कृषि कार्यालयहरूका अनुसार धान उत्पादनको राजधानी मानिने मोरङ, झापा र सुनसरी जिल्लामै धान उत्पादन घटेको छ, जसका कारण कोशीको कुल उत्पादनमै असर परेको हो ।
झापा: झापामा यो वर्ष करिब २८ हजार टन उत्पादन घटेको छ। गत वर्ष ३ लाख ८२ हजार ८ सय १२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ३ लाख ५४ हजार ३ सय ५१ मेट्रिक टन मात्रै उत्पादन भयो । मोरङमा गत वर्ष ३ लाख ३९ हजार टन धान फलेकोमा यो वर्ष ३ लाख ३६ हजार ९ सय २० टन मात्रै उत्पादन भएको छ ।
सुनसरीमा पनि गत वर्ष २ लाख १७ हजार टन उत्पादन हुँदा यसपटक २ लाख ११ हजार ६ सय ८ टन मात्रै फलेको छ । कृषि विज्ञहरूले आगामी वर्ष बीउ सुधार, सिँचाइ बिस्तार र आपतकालीन कृषि सहायताका कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्न सके मात्र प्रदेशको धान उत्पादन स्थिर हुने सुझाव दिएका छन् ।

























