
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमलाई शुभकामना दिएकी छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री कार्कीले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना व्यक्त गरेकी हुन्।
‘सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना । यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको छ।’
दिउँसो साढे ३ बजे हुने यो महत्त्वपूर्ण खेलमा लुम्बिनी लायन्सको कप्तानी नेपालको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिमको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।
यो खेल जसले जितेपनि एनपीएलले यस संस्करणमा नयाँ च्याम्पियन पाउनेछ। सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ हुँदै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ। पहिलो संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो। जनकपुर बोल्ट्स भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ।

























