
इटहरी । सुनसरीको इटहरीमा ‘तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय भट्टराईको स्मृतिमा तेस्रो संस्करणको फुटबल प्रतियोगिता आगामी फागुन २ देखि ९ गतेसम्म हुने भएको छ ।
आयोजक द योङ ब्रदर्श क्लब इटहरीले शनिबार पत्रकार सम्मेलन गरी अघिल्ला २ वटा संस्करण प्रदेश स्तरीय भए पनि यस पटकदेखि भने अन्तर्राष्ट्रिय स्तरको गर्ने क्लबका संरक्षक विकास केसीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता गर्नुको मुख्य कारण खेलाडी उत्पादन रहेको बताए ।
पछिल्लो समय इटहरीमा फुटबल खेलाडीको अभाव भएको महसुस गरी त्यसलाई पूर्ति गर्न प्रतियोगिता गर्नुको मुख्य उद्देश्य रहेको केसीले बताए । इटहरीबाट फुटबल खेलाउँदा पछिल्लो समय अरूतिरका खेलाडी बटुलेर ल्याउनुपर्ने बाध्यता छ ।
यस्तो बाध्यताको अन्त्य गरी इटहरीका नयाँ पुस्तालाई ऊर्जा थपेर खेलकुदप्रति आकर्षित गर्न खेलकुद गतिविधि सञ्चालन गर्न लागिएको उनले प्रस्ट पारे ।
प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका ८ टोलीको सहभागिता रहने छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा रूपान्तरण भएसँगै विजेता टोलीले ४ लाख ४ हजार र उपविजेता टोलीले २ लाख २ हजार २ सय रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।
प्रत्येक दिन प्लेयर अफ द म्याच हुने खेलाडीले ७ हजार रुपैयाँ पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्ताले जनही १३ / १३ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता आयोजना गर्न ३० लाख अनुमानित खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।



















