
विराटनगर । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखरामा विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘पोखरा सडक महोत्सव’ यस वर्ष डिसेम्बर २८ देखि सुरु हुने भएको छ। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिइएको हो । आयोजकले अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा सहभागी हुन पूर्वेलीलाई निम्तो दिएका छन् ।
यसपटक २७औं संस्करणको यो महोत्सव डिसेम्बर २८ देखि पोखराको लेकसाइडमा पाँच दिनसम्म सञ्चालन हुनेछ। अंग्रेजी नयाँ वर्षको स्वागतमा लक्षित यो महोत्सव ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडक मै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार, कोभिड-१९ महामारी लगायत विभिन्न राजनीतिक तथा विपत्तिबाट पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्ने र पोखरालाई विश्वसामु प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ।
यो महोत्सवले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने, पोखराको पहिचान, संस्कृति, खानपान र आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षक गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएको छ।
महोत्सवका प्रमुख आकर्षण
सांस्कृतिक प्रस्तुति: विभिन्न जातजातिका लोकनृत्य, मौलिक भेषभूषा र सांस्कृतिक गुरुहरूको सहभागिता।
सडक खाना महोत्सव: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको स्वाद लिन सकिने।
मनोरञ्जन: नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको ‘लाइभ कन्सर्ट’, मौलिक लोक गीत, नृत्य प्रस्तुति।
खेलकुद: तालमा बोट रेस, ‘टग अफ वार’ लगायत पर्यटक तथा स्थानीयका लागि विभिन्न खेल गतिविधिहरू।
शैक्षिक तथा प्रवर्द्धनात्मक कार्यक्रम: पोखराको पर्यटनको अवसरमा चुनौतीपूर्ण ‘टक शो’ र सिर्जनात्मक कलाकृतिको प्रदर्शनी गरिनेछ।
यो महोत्सव ‘सृजना र सङ्गठनको एक महत्त्वपूर्ण मञ्च’ भएको र यसले पर्यटन व्यवसायी लगायत सबै सरोकारवालाहरूलाई पोखराको ‘गोल्डेन हब’ को सन्देश प्रवाह गर्ने आयोजकको दाबी छ।
यो महोत्सव सफल पार्न आयोजकहरूले इन्द्रेणी, विराटनगर, जनकपुर, चितवन लगायतका प्रमुख शहरहरूमा पुगेर प्रचार-प्रसार गर्ने बताएका छन्। महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. छ। यो आयोजना रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा हुनेछ।

























