
काठमाडौँ । पुस महिनाका लागि एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यससँगै व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरूले आज पुस महिनाका लागि सार्वजनिक गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ। यो दर मंसिर महिनामा रहेको ५.०४०५ प्रतिशतविन्दुको तुलनामा ०.२०६५ प्रतिशतविन्दुले कम हो।
१३ वटा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। सात वाणिज्य बैंकहरू (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) ले भने मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन्। यस्तै, सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ। यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ। पुस महिनाका लागि पाँच वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्।

























