
काठमाडौं । १२ औँ राष्ट्रिय एमबिटी डाउनहिल तथा २०औँ क्रस कन्ट्री एमटिबी प्रतियोगिता आगामी पुसको पहिलो साता काठमाडौंमा हुने भएको छ ।
नेपाल साइक्लिङ संघको आयोजनामा काठमाडौंमा नेपाल नेशनल माउन्टेन बाइक च्याम्पियनसिप हुन लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।
गोकर्ण नगरपालिकाका मेयर दीपककुमार रिसाल, राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्डका अध्यक्ष सुदर्शन सिग्देल र साइक्लिङ संघका अध्यक्ष सुदीप पौडेल र संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाली चुलोका प्रबन्ध निर्देशक संघर्ष बिष्टलगायतको उपस्थित थिए ।
कार्यक्रममा मेयर रिसालले धेरै युवाले रुचाएको खेललाई नगरपालिकाले सहयोग गरेको र नगरले सम्पूर्ण खेलकुद विकासमा काम गरिरहेको बताए ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहिद स्मारक पार्कमा आगामी पुस ४ र ५ गते प्रतियोगिता हुने आयोजकले जनाएको छ । यो कोर्समा १३ औँ दक्षिण एसियाली खेलकुद पनि भएको थियो ।
डाउनहिल र क्रस कन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने रेस डाइरेक्टर देवेन्द्र बस्नेतले जानकारी दिए । पुरुष इलिट (१९ देखि ३० वर्ष) र महिला इलिट, जुनियर (१७ र १८ वर्ष उमेर समूह), मास्टर्स (३० वर्षमाथि) र यूथ (१४ देखि १६ वर्ष उमेर समूह) गरी ५ इभेन्टमा गरी कुल ३० पदकका लागि प्रतिस्पर्धा गरिने बस्नेतले बताए ।
डाउनहिल र क्रस कन्ट्रीमा समान ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै विधामा मास्टर्स र जुनियरमा महिला तथा पुरुषमा गरी ४ विधामा प्रतिस्पर्धा हुनेछन् ।
यस प्रतियोगिताका लागि कोर्ष बनाउन गोकर्ण नगरपालिकाले सहयोग गरेको संघले जनाएको छ । बाइकिङ एन्ड हाइकिङ गर्ने हिसाबले पहिलेदेखि ट्र्याक तयार पारिएको संघका अध्यक्ष सुदीप पौडेलले बताए ।
साथै उनले हरेक खेलाडीको बिमा पनि गरिएको बताए । यस प्रतियोगिताका लागि स्रामका सञ्चालक तथा साइक्लिङका प्रमुख प्रशिक्षक प्रयास तामाङले १ लाख रुपैयाँ सहयोग गरेको संघले जनाएको छ ।

























