
विराटनगर । निजी क्षेत्रको खस्कँदो मनोबल उकास्न र लगानीमैत्री वातावरण निर्माणका लागि गर्न माग गर्दै उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराएको छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेटवार्ता गरी ९ बुँदे सुझाव पत्र पेस गरेको हो ।
भेटका क्रममा अध्यक्ष राठीले निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गर्दै अहिलेको शिथिल अवस्थालाई चिर्न सरकारले स्पष्ट र सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । “अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उद्योग–व्यवसाय क्षेत्र निर्बाध सञ्चालन हुन प्रक्रियागत जटिलताको अन्त्य र शान्ति–सुरक्षाको प्रत्याभूति हुनुपर्छ,” अध्यक्ष राठीले मन्त्रीहरूसँग भने, “निजी क्षेत्रले सरकार भएको अनुभूति गर्ने वातावरण बनोस्।”
जवाफमा मन्त्रीहरूले संगठनका सुझावहरूलाई सकारात्मक रूपमा लिएको बताए । तत्काल कार्यान्वयन गर्न सकिने विषयहरूलाई यथाशीघ्र अघि बढाउने र नीतिगत सुधारका विषयहरूलाई आगामी सरकारका लागि ‘नोट’ का रूपमा राखिने प्रतिबद्धता मन्त्रीहरूले जनाएको अध्यक्ष राठीले जानकारी दिए ।
यी हुन् ९ सुझाव
१. मनोबल अभिवृद्धि: भयमुक्त वातावरणमा उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउँदै निजी क्षेत्रको योगदानको सम्मान गर्नुपर्ने।
२. विद्युत आपूर्ति: नजिकिँदै गरेको सुख्खायाममा विद्युत कटौती हुन नदिन, बर्जु सब-स्टेसनको निर्माण सक्न र जिर्ण ट्रान्समिसन लाइन मर्मत गर्नुपर्ने।
३. रेल्वे कार्गो सेवा: विराटनगर आईसीपीसम्मको कार्गो रेल सेवा नियमित गर्न चर्को ह्यान्डलिङ शुल्क तत्काल परिमार्जन गर्नुपर्ने।
४. हुलाकी सडक: मोरङ–कटहरी खण्डको हुलाकी सडक निर्माण प्रक्रिया सुचारु गरी छिटो सम्पन्न गर्नुपर्ने ।
५. स्वदेशी उत्पादनको प्रयोग: सरकारी तथा सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने।
६. निर्यात अनुदान: निर्यातमा दिइँदै आएको नगद अनुदानको कार्यविधि बनाई निवेदन लिने प्रक्रिया पुनः सुरु गर्नुपर्ने।
७. पूँजीगत खर्च: बजार चलायमान बनाउन सरकारी पूँजीगत खर्च वृद्धि गर्नुपर्ने।
८. भन्सार ऐन २०८२ संशोधन: हालै लागू भएको भन्सार ऐनमा रहेका उद्योग विरोधी प्रावधानहरू सच्याउनुपर्ने।
९. प्रक्रियागत सरलीकरण: कर, भ्याट, दर्ता तथा नवीकरण जस्ता सरकारी सेवालाई छिटो र छरितो बनाउनुपर्ने ।
भेटवार्तामा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरा लगायत कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो।

























