
काठमाडौँ । लामो समयको सुस्ततापछि घरजग्गा कारोबारमा एकाएक उत्साह देखिएको छ। कित्ताकाट खुलेसँगै मङ्सिर महिनामा देशभर ५१ हजार ६३२ वटा घरजग्गा किनबेच (लिखत पारित) भएका छन्, जसबाट सरकारलाई ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनपछि निरन्तर ओरालो लागेको घरजग्गा बजार मङ्सिरमा भने ह्वात्तै बढेको हो। कात्तिकमा मात्र २ अर्ब ७४ करोड राजस्व उठेकोमा मङ्सिरमा यो रकम झन्डै दोब्बर पुगेको छ।
सरकारले गत कात्तिक २४ गते भू–उपयोग नियमावलीमा तेस्रो संशोधन गरेर जग्गा कित्ताकाट सहज बनाइदिएको थियो। स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा ५०० भन्दा बढी पालिकाहरूमा साउनदेखि रोकिएको कित्ताकाट मङ्सिरमा एकैपटक खुलेको हो। विभागका अनुसार मङ्सिर महिनामा मात्रै ५५ हजार ८ वटा नयाँ कित्ताकाट भएका छन्।
घरजग्गा व्यवसायीहरूका अनुसार मङ्सिरमा कारोबार बढ्नुका पछाडि मुख्य तीन कारण छन्। आगामी पुस महिनादेखि ५ लाखभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने, अनिवार्य चेक हुनुपर्ने र लाइसेन्स प्राप्त ब्रोकरमार्फत मात्रै कारोबार गर्नुपर्ने नियम आउँदैछ। यो नयाँ नियम लागू हुनुअघि नै झन्झट मुक्त हुन धेरैले मङ्सिरमै जग्गा खरिद-बिक्री टुङ्ग्याएका हुन्।
शेयर बजार र अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा सर्वसाधारणले जमिनलाई नै सबैभन्दा सुरक्षित लगानीका रूपमा रोज्न थालेका छन्। मङ्सिर महिना घरजग्गा कारोबारको परम्परागत ‘सिजन’ पनि हो। खेतीपाती सकिने र जग्गा हेर्न सजिलो हुने भएकाले यो समयमा सधैँजसो चहलपहल बढ्ने गर्छ।
चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा कुल १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ। मङ्सिरको यो वृद्धिले सुस्त रहेको अर्थतन्त्रमा घरजग्गा क्षेत्रबाट केही आशा जगाएको विश्लेषण गरिएको छ।

























