
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन् ।
तीन दिने प्रतियोगिताका खेल भने बिहीबारदेखि नै सुरु भएको थियो । पहिलो दिन बोर्ड ब्रेकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ ।
आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए । शनिबार प्रतियोगिताको समापन हुनेछ ।
प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले शुक्रबार पुम्सेका सबै इभेन्ट सकिएको जानकारी दिए ।
उनका अनुसार क्यारुगीमा पनि १४ वर्षमुनिका सबै प्रतिस्पर्धा सकिएको छ । प्रतियोगितामा २ सय स्वर्ण, २ सय रजत र ४ सय कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

























