
विराटनगर । आदर्श र सरस्वती स्कुल विराटनगरमा जारी ‘चौथो विराटनगर हब अन्तर विद्यालय क्रिकेट’ प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा आदर्श स्कुलले गौतम बुद्ध स्कुललाई ६१ रनले हराउँदै क्वाटर फाइनल यात्रा तय गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ थालेको आदर्शले निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ५२ रनको योगफल खडा गर्यो । आतिफ रैनले ३७ रन बनाए भने गौतम बुद्धका सिद्धार्थ राजवंशी र कौशिक साहले समान ३–३ विकेट लिए ।
१ सय ५३ रनको चुनौती पछ्याउने क्रममा गौतम बुद्धले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९१ रनमै समेटियो । सिद्धार्थ राजवंशीले २८ रन बनाए । आदर्शका प्लेयर अफ म्याच गौरव रायले ४ विकेट र नन्दलाल झाले ३ विकेट लिए ।
त्यस्तै, दिनको दोस्रो खेलमा सरस्वती स्कुलले विनायक स्कुललाई ८ विकेटले हराउँदै क्वार्टर फाइनलमा पुगेको छ ।
टस जित्दै ब्याटिङ थालेको विनायकले २० ओभर पूरै खेल्दै सबै विकेटको क्षतिमा ४२ रनको झिनो योगफल बनायो । अमन पोद्दारले मात्रै १३ रन बनाए भने सरस्वतीका प्लेयर अफ म्याच दिगम्बर यादवले ४ विकेट लिए ।
४३ रनको झिनो लक्ष्य पाएको सरस्वतीले ७ ओभरमा २ विकेट गुमाउँदै विजयी भयो । विकास कामतले १६ रन बनाए भने विनायकका शिवम् पासवानले १ विकेट लिए ।

























