
विराटनगर । चौथो विराटनगर हब अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा ग्रिनपिस र अर्किड स्कुल पुगेका छन् ।
विराटनगरमा नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा ग्रिनपिस स्कुलले डिएभी स्कुललाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
टस जित्दै थालेको पहिलो ब्याटिङमा डिएभीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय १६ रनको चुनौती प्रस्तुत गरेको थियो । प्रभान्स कर्णले ४० रन बनाए भने ग्रिनपिसका समिमले ३ विकेट लिएका थिए ।
ग्रिनपिसले पाएको १ सय १७ रनको विजयी लक्ष्य १६ ओभर ५ बल खेल्दै ८ विकेटको क्षतिमा हासिल गर्यो । साकिर आलमले २९ रन र प्लेयर अफ म्याच आमिर रैनले २१ रन बनाए । डिएभीका अन्स अग्रवालले ४ विकेट लिए ।
त्यस्तै, दोस्रो खेलमा अर्किड स्कुलले बिकेभिएम स्कुललाई १४ रनले हराउँदै सेमिफाइनलमा पुगेको छ ।
बिकेभिएमले टस जितेर पहिलो ब्याटिङको निम्तो अर्किडलाई दिएको थियो ।
ब्याटिङ थालेको अर्किडले २० ओभरको खेलमा १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २२ रनको योगफल बनाएको थियो । प्लेयर अफ द म्याच प्रेम कामतले ५३ रन बनाएका थिए भने बिकेभिएमका जितेन्द्र यादवले ३ विकेट लिए ।
१ सय २३ रनको विजयी लक्ष्य भेटाउने क्रममा बिकेभिएमले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८ रनमै समेटियो । विवेक यादवले ३७ रन बनाए भने अर्किडका प्रेम कामत, सुजन यादव, अभय कामत र अन्सु कामतले समान २–२ विकेट लिएका थिए ।

























