
विराटनगर । विराटनगरमा जारी ‘चौथो विराटनगर हब अन्तर स्कुल क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि सरस्वती र सत्यनारायण स्कुल बुधबार खेल्ने छन् ।
नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
टस जितेर ब्याटिङ थालेको अर्किडले निर्धारित २० ओभरको खेलमा १४ ओभर २ बलमा सबै विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सफल भयो । अभय कामतले १६ रन मात्रै बनाए । सरस्वतीका प्लेयर अफ द म्याच प्रशान्त यादवले ७ विकेट लिए ।
७३ रनको लक्ष्य पाएको सरस्वतीले १५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै विजयी भयो । प्रशान्त यादवले २५ रन र दिगाम्बर यादवले २२ रनको योगदान गरे । अर्किडका अभय कामतले २ विकेट लिए ।
त्यस्तै, दिनको दोस्रो खेलमा सत्यनारायण स्कुलले ग्रिनपिस स्कुललाई ३३ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रनको योगफल बनाएको थियो । मनिष कामतले ३२ रन र सागर यादवले ३१ रनको योगदान गरे । ग्रिनपिसका महमद समिम र मिराज शेखले २–२ विकेट लिए ।
१ सय ४१ रनको विजयी लक्ष्य पाएको ग्रिनपिसले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ७ रनमै समेटियो । साहेब आलमले ४४ रन बनाए भने सत्यनारायणका प्लेयर अफ द म्याच सागर यादवले ५ विकेट लिए ।



















