
तराईमा जाडोको लहर सुरु भएसँगै मोरङका चोकचोकमा तातोतातो भक्काको सुगन्ध फैलिन थालेको छ । विशेष गरी हुलाकी सडक किनारका विभिन्न स्थानमा बिहानैदेखि महिलाहरू भक्का बनाउन र बिक्री गर्न व्यस्त देखिन्छन् । तराई भेगका विपन्न परिवारका महिलाहरूका लागि यो व्यवसाय जाडो याममा जीवनयापनको एउटा बलियो सहारा बनेको छ ।
मंसिरदेखि सुरु हुने यो व्यवसाय माघ महिनाभरि चल्ने गर्दछ । रंगेलीको बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेतरी टोल र पिपल चोक लगायतका स्थानहरूमा बिहानैदेखि ग्राहकहरूको भीड लाग्ने गर्दछ । भक्का बनाउन व्यवसायीहरूले निकै मिहिनेत गर्ने गरेका छन् । अघिल्लो दिनभरि चामल भिजाएर साँझपख मिल वा ओखलीमा पिठो तयार पारिन्छ र भोलिपल्ट बिहानै पानीको बाफमा पकाएर तातोतातो भक्का तयार गरिन्छ ।
महिलाहरूले अहिले बिहान ५ बजेदेखि १० बजेसम्म दैनिक १० देखि १५ केजीसम्म पिठोको भक्का बेच्ने गरेका छन् । यसरी तयार पारिएको भक्का प्रतिगोटा ५ देखि १० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । रंगेलीकी ४५ वर्षीया आरती देवी मण्डलले भक्का बिक्री गरेरै दैनिक ४ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन् ।

बिहानको खाजाको रूपमा बालबालिकादेखि वृद्धवृद्धा र युवाहरूले समेत भक्का निकै रुचाउने गरेका छन् । स्थानीय हरिया देवी साहका अनुसार चिसो मौसममा भक्का एक लोकप्रिय नास्ता बनेको छ । भक्कासँगै पछिल्लो समय आलुचपको बिक्री समेत बढ्न थालेको स्थानीय रिता मण्डलले जानकारी दिइन् । यस व्यवसायले एकातिर तराईको मौलिक स्वादलाई जोगाएको छ भने अर्कोतिर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न मद्दत पुर्याएको छ ।

























