
विराटनगर । विराटनगर महानगरपालिका स्तरीय ‘१८ औँ राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेस्ट स्कुलको संयोजनमा भएको प्रतियोगिताको उद्घाटनको दिन एभरेस्ट स्कुलले २ वटा स्वर्ण जितेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रनिङ शिल्डमा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयको आकर्षण बढ्नु खेलकुद क्षेत्रका लागि सुखद भएको बताए ।
उनले रनिङ शिल्ड जस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूमा अनुशासन र प्रतिस्पर्धाप्रतिको सकारात्मक धारणा विकसित गर्नेमा आशावादी रहेको धारणा व्यक्त गरे ।
प्रतियोगिताको संयोजन गरेको एभरेस्ट स्कुलका प्राचार्य टीकाराम पुरीले राष्ट्रपति रनिङ शिल्ड विद्यार्थीहरूले प्रतिभा प्रदर्शन गर्ने थलोको रूपमा विकसित भएको बताए ।
उनले २१ औँ शताब्दीको शिक्षामा सीप, प्रविधि र संस्कारलाई जोड्न अत्यावश्यक रहेको भन्दै खेलकुदले अनुशासनको विकास गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
प्रतियोगिताको पहिलो दिन एभरेस्टले २ स्वर्ण, श्री जनता नमुना माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयले १–१ स्वर्ण पदक जितेका छन् ।
त्यस्तै, प्रतियोगितामा सहभागी विद्यालयले प्रदर्शन गरेको मार्च पासमा आदर्श माध्यमिक विद्यालय प्रथम, पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय द्वितीय र पोखरिया माध्यमिक विद्यालय तृतीय हुँदै क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गरे ।
पुस ११ गतेसम्म हुने प्रतियोगितामा महानगरपालिकाका ६१ विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितामा छात्र ६६ र छात्रा ६६ गरी १३२ स्वर्ण पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायतको खेलमा प्रतिस्पर्धा गर्दै छन् ।

























