
विराटनगर । विराट ट्रेड एक्स्पोअन्तर्गत उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ ।
मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सञ्चालनमा आएको एक्स्पोमा बिहीबार विभिन्न विषयमा केन्द्रित सेसनहरूको उद्घाटन गरिएको हो ।
थिमेटिक सेसनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवाल र संघका अध्यक्ष अनुपम राठीले संयुक्त रूपमा गरेका थिए । सो अवसरका बोल्दै अध्यक्ष राठीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष विशेष सेसन समावेश गरिएको जानकारी दिए ।
उनले पछिल्ला केही दशकसम्म उद्योग व्यवसाय क्षेत्रमा पुरुषको वर्चस्व रहे पनि पछिल्लो समय विश्वभर महिला उद्यमशीलता तीव्र रूपमा बढ्दै गएको उल्लेख गरे । ‘हाम्रो समाज पनि यसअनुसार परिवर्तन हुन आवश्यक छ,’ राठीले भने, ‘महिला उद्यमीका संघर्ष, चुनौती र सफलताका वास्तविक कथामार्फत व्यावसायिक यात्राको यथार्थ चित्र प्रस्तुत गर्ने प्रयास गरेका हौँ ।’
उनका अनुसार थिमेटिक सेसनले महिला उद्यमीहरूबिच नेटवर्क विस्तार गर्न सहयोग पुर्याउने र ‘महिला उद्यमशीलता आजको आवश्यकता हो’ भन्ने सन्देश समाजमा प्रवाह गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रम संयोजक अनिल सारडाले एक्स्पो अवधिभर नियमित रूपमा विभिन्न विषयमा केन्द्रित थिमेटिक सेसन सञ्चालन गरिने जानकारी दिए । यो पटक फरक ढंगले एक्स्पो स्थलमै यस्ता ज्ञानमूलक सेसन आयोजना गरिएको हो,’ उनले भने, ‘विद्यार्थीलाई केन्द्रमा राखेर उद्यमशीलताका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे बुझाउने उद्देश्य राखिएको छ ।’
थिमेटिक सेसनको पहिलो दिन ‘महिला उद्यमशीलता: चुनौती, अवसर र सफलताका कथा’ विषयमा केन्द्रित छलफल सम्पन्न भएको छ ।
‘माई भ्वाइस, माई स्टोरी’ शीर्षकमा आयोजित उक्त सेसनको सहजीकरण श्रुति शर्माले गरेकी थिइन् । छलफलमा सहभागी वक्ताहरूले महिला उद्यमशीलता अझै अपेक्षित गतिमा नबढे पनि भविष्यका लागि प्रशस्त सम्भावना रहेको धारणा व्यक्त गरेका थिए ।

























