
विराटनगर । विराटनगरमा भएको विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि एभरेस्ट स्कुलले जितेको छ । एभरेस्टले ११ स्वर्ण, ९ रजत र ११ कास्यपदक गरी ३१ पदकका साथ शीर्ष स्थान हुँदै उपाधि जितेको हो ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेस्ट स्कुलको संयोजनमा भएको प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य गरी २६ पदकका साथ आदर्श मावि द्वितीय र ८ स्वर्ण, ७ रजत र ७ कास्य गरी २२ पदकका साथ सत्यनारायण मावि तृतीय स्थान भयो ।
प्रतियोगिताअन्तर्गत छात्र ट्रिपल जम्पमा जनता माविका समीर राजवंशीले स्वर्ण, सत्यनारायणका रोहन शर्मा रजत र आदर्श माविका अमन राजवंशीले कास्य पदक जिते भने ट्रिपल जम्प छात्रातर्फ स्टार माविकी प्रिया मिश्रले स्वर्ण, मिल्स माविकी तरबा खातुनले रजत र आदर्शकी मोहिनी दासले कास्य पदक जिते ।
त्यसैगरी, ८ सय मिटर दौड छात्रतर्फ सत्यनारायणका नितेश भट्टराईले स्वर्ण, जनता नमुना माविका समीर राजवंशीले रजत र ग्यालेक्सी माविका विवश अधिकारीले कास्य पदक हात पारे ।
२ सय मिटर छात्रतर्फ महेन्द्र माविका विराट राजवंशीले स्वर्ण, अरनिको माविका अभिषेक यादव रजत र जनता नमुनाका आयुष राजवंशीले कास्य पदक जिते भने छात्रातर्फ सरस्वती माविकी फूलकुमारी राजवंशीले स्वर्ण, स्टार माविकी प्रिया मिश्रले रजत र आदर्श माविकी एन्जिला भट्टराईले कास्य पदक जिते ।
भलिबलमा प्लेयर अफ टुर्नामेन्ट छात्रतर्फ पोखरिया माविका अरिबहादुर परियार र छात्रातर्फ बिकेभिएमका सलिस्मा सिंह भए । कबड्डीको छात्रतर्फ महेन्द्र माविका दीपेश राजवंशी र छात्रातर्फ सत्यनारायणकी सन्तोषी राय प्लेयर अफ टुर्नामेन्ट भए ।
प्रतियोगितामा महानगरपालिकाका ६५ विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायतको खेलमा प्रतिस्पर्धा गरेका थिए ।

























