विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल : कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १५:५५
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल : कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।

छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिँदै कृषि, संस्कृति, पदयात्रा र आतिथ्यसँग जोडिएको पर्यटनबाट जनस्तरसम्म लाभ पुर्‍याउन सकिने बताए ।  पर्यटन सेवामूलक उद्योग भएकाले यसमा मानव जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने उनले स्पष्ट पारे ।

नेपाल पर्यटन बोर्ड संघीय संरचनामा रहेर २६ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै खनालले आन्तरिक पर्यटन, उत्सव–महोत्सव प्रवर्द्धन र ब्रान्डिङमा समेत बोर्ड सक्रिय रहेको बताए ।  ‘नेपालको पर्यटन ब्रान्ड हिमाल हो, तर यससँगै कला, संस्कृति र पदयात्राको अनुभव पनि पर्यटकका लागि ठूलो आकर्षण हो,’ उनले भने ।

उनले पर्यटन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै प्रदेश स्तरमै स्पष्ट ब्रान्ड र आकर्षक प्याकेज विकास गर्नुपर्नेमा जोड दिए ।

उद्‌घाटन सत्रमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा थोरै दूरीमा नै फरक फरक मौसम र भूगोल अनुभव गर्न सकिने विशेषता रहेको बताए ।

प्राकृतिक सुन्दरता र धार्मिक महत्वले नेपालमा पर्यटनबाट ठूलो रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले प्रचारप्रसारको अभाव चुनौती बनेको बताए । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग आवश्यक रहेको उनको धारणा थियो ।

कोशी प्रदेशको पर्यटन सम्भावनाबारे पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविशकुमार श्रेष्ठले प्रस्तुति दिए । उनले कोशी प्रदेशको आधार नै पर्यटन भएको भन्दै प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाबाट अझै धेरै अवसर सिर्जना गर्न सकिने बताए ।

‘विभिन्न जातजातिका सांस्कृतिक महोत्सव र उत्सवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने । भारतसँगको सामीप्यलाई अवसरका रूपमा उपयोग गर्दै बिहार, बंगाल र उत्तर प्रदेशबाट पर्यटक भित्र्याउन सकिने र क्रस बोर्डर टुरिजमको ठूलो सम्भावना रहेको बताए ।

विराटनगर विमानस्थलबाट भुटान, म्यानमार र बंगलादेशसम्मको हवाई सम्पर्क विस्तार गर्न सके पर्यटन क्षेत्र चलायमान गराउन टेवा पुग्ने उनको भनाइ थियो ।

कोशी प्रदेश पर्यटनसम्बन्धी प्यानल छलफलको सहजीकरण कृष्ण साहले गरेका थिए । प्यानलमा कोशी प्रदेश पर्यटन मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, होटेल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका महासचिव आकाश दुलाल र आईएसएमटी कलेजकी अध्यापिका श्रृजा पोखरेल सहभागी थिए ।

छलफलमा व्यवसायी दुलालले हालैको आन्दोलनका कारण होटेल क्षेत्रमा भएको क्षति, इन्स्योरेन्स प्रक्रिया र सरकारी सहुलियत नपाएको बताउँदै भने, ‘हामीले होटेल पुनर्निर्माण गरेर संचालन नै गरिसकेपछि सुविधा पाइने भयो भनेर सूचना पाइयो । तर, त्यसअघि सरकारका निकाय धाउँदा धाउँदा थाकिएको थियो ।’

पर्यटन मन्त्रालयका सचिव सापकोटाले निजी क्षेत्रले कठिन अवस्थामा पनि धैर्य देखाएको भन्दै प्रदेश सरकारले नीतिगत रूपमा राहत र सहजीकरण गर्ने प्रयास गरिरहेको बताए । प्राकृतिक रूपमा रहेका पर्यटन क्षेत्रको प्रचार गरे मात्र पनि ठूलो उपलब्धि लिन सक्ने र यसमा निजी क्षेत्रसँग साथै हिँड्न सरकार तयार रहेको बताए ।

पोखरेलले पर्यटन क्षेत्रमा करियरको सम्भावनाबारे विद्यार्थीमा जानकारीको अभाव रहेको उल्लेख गर्दै नेपालमै अवसर सिर्जना गर्न सकिने सन्देश दिनुपर्ने बताइन् ।

होटेल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले विराटनगरलाई भारतीय पर्यटकका लागि गेटवेका रूपमा विकास गर्न सकिने भन्दै पदयात्रा, साहसिक पर्यटन र होटेल उद्योगमा युवालाई जोड्नुपर्ने धारणा राखे । श्रेष्ठले कोशी प्रदेशमा समेत ठूलाठूला होटेल निर्माण हुने क्रम बढेको जानकारी दिए ।

छलफलले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसका लागि स्पष्ट ब्रान्डिङ, समन्वय, पूर्वाधार र प्रभावकारी प्रचार आवश्यक रहेकोमा विज्ञ तथा प्यानलिष्टको निष्कर्ष थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.