एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अर्को साता 

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १३, आइतबार १८:३३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अर्को साता 

काठमाडौं ।  जेनजी आन्दोलनका कारण स्थगित भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को २२ औँ संस्करण पुस २३ गते पोखरामा हुने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित हुन पुगेको थियो । यसैगरी,  स्पोर्ट्स अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए ।

यति एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोनयनमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्ने छ ।

त्यसैगरी, आइतबारकै मितिदेखि अवार्डको महत्त्वपूर्ण विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको बताइएको छ ।

मञ्चका महासचिव अञ्जन खड्काले भने, ‘विगतमा पिपल्स च्वाइसको मनोनयनमा रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहींबाट भोटिङ प्रक्रिया फेरि सुरु हुनेछ ।’ यस विधाको प्रतिस्पर्धामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबल टेनिसकी इभाना थापा रहेका छन् ।
स्पोर्ट्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोर्ट्स समिट हुनेछ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायमान बनाउन स्पोर्ट्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमी बारे बहस हुने जानकारी गराए ।

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ मा १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।

वर्ष खेलाडी पुरुष / महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×