कोशीमा ई–रिक्सा नियमनको नयाँ अध्याय, हट्यो लिखित परीक्षाको प्रावधान

Share this
763shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ पुष १३, आइतबार १८:५३

विराटनगर । कोशी प्रदेशमा सीटी सफारी (ई–रिक्सा) नियमनको नयाँ अध्याय सुरु भएको छ । अब सफारी चालकले लाइसेन्स (सवारी चालक अनुमतिपत्र)का लागि लिखित परीक्षा दिन पर्दैन ।

लिखित परीक्षाको प्रावधान हटाएर तराईका सहरको दैनिकीसँग जोडिएको ई–रिक्साको नियमन र व्यवस्थापनको पाटोलाई नयाँ मोडमा प्रवेश गराइएको हो । ई–रिक्सा यात्रुका लागि सस्तो, सहज र छिटो सवारीसाधनका रूपमा चिनिन्छ । सहरलाई चलायमान बनाइरहेका ई–रिक्साको वैधानिकतासँग जोडिएको गम्भीर र दीर्घकालीन समस्या भने अब कोशी प्रदेशमा समाधान भएको छ ।

ई–रिक्साका अधिकांश चालक निरक्षर छन् । उनीहरुसँग लाइसेन्स छैन । यातायात व्यवस्था कार्यालय विराटनगरका अधिकृत तीर्थराज बुढाथोकीका अनुसार निरक्षर चालकले लिखित परीक्षा उत्तीर्ण हुन नसक्दा उनीहरु लाइसेन्सविहीन बन्नु परेको हो । ‘सफारी चालकले अब लिखित परीक्षा दिन पर्दैन । व्यावहारिक र प्रयोगात्मक परीक्षा (ट्रायल) दिएर पास गरेपछि उनीहरुले लाइसेन्स प्राप्त गर्न सक्छन्,’ उनले भने ।

ई–रिक्सा चालकलाई लाइसेन्सविहीन अवस्थाबाट मुक्त गर्ने र सबै चालकको हातमा लाइसेन्स पुर्याउने योजनाअन्तर्गत प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले सडक केन्द्रित संयुक्त अभियान चलाइरहेका छन् । सबै चालकलाई लाइसेन्स अनिवार्य गर्ने निर्णायक प्रयासस्वरुप लिखितको प्रावधान हटाएर प्रयोगात्मक परीक्षाको व्यवस्था मात्रै कायम गरिएको जानकारी बुढाथोकीले दिए ।

सरोकारवाला निकायले सडकमै पुगेर ई–रिक्साका चालकलाई लाइसेन्समा रहेको वर्षौंदेखिको झन्झट हटाइएको र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेर सबैले अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था लागू गरिएको जानकारी दिन थालेका छन् । प्रदेशका मन्त्रीदेखि यातायातका कर्मचारी र ट्राफिक प्रहरीले लाइसेन्स लिने प्रक्रियाका बारेमा जानकारी दिनलाई सडकमै सीटी सफारी लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका हुन् । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी आफैं उपस्थित भएर सफारी चालकहरुलाई नयाँ व्यवस्थाको जानकारी दिन्छन् ।

 

सबै सरोकारवालाले संयुक्त रूपमा सीटी सफारी नियमन अभियान थालेपछि वर्षौँदेखि ‘छुट’ मा चल्दै आएका हजारौँ ई–रिक्सालाई अब कानुनी दायरामा आउनैपर्ने बाध्यता आइलागेको छ । ठाउँ–ठाउँका सडकमा सफारी चालकहरूलाई भेला पारेर गरिने जनचेतना कार्यक्रमले अभियानको गम्भीरता प्रस्ट पारेको बुढाथोकीको भनाइ छ ।

उनका अनुसार सडकमा सफारी चालकलाई भेला पारेर ट्राफिक नियम, सडक अनुशासन, यात्रु सुरक्षा र सवारी दर्ता तथा लाइसेन्स प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिँदै अब पुस महिनाभित्र चालक अनुमतिपत्र अनिवार्य लिनुपर्ने विषयमा स्पष्ट पार्ने गरिएको छ । माघदेखि भने लाइसेन्स र ब्लुबुक बिना सीटी सफारी चलाउन नपाइने तथा नियम उल्लंघन गरे कारबाही हुने जानकारीसमेत दिने गरिएको बुढाथोकीको भनाइ छ ।

यो अभियानको पृष्ठभूमि कोशी प्रदेश सरकारको हालैको नीतिगत निर्णयसँग जोडिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै सफारी चालकका लागि अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था लागू गरेपछि नियमनकारी निकायहरू सक्रिय बनेका हुन् । विशेषतः वर्षौँदेखि समस्याको जडका रूपमा रहेको लिखित परीक्षाको बाध्यतामूलक अवस्थालाई हटाएर सरकारले व्यावहारिक, समावेशी र यथार्थपरक नीति अवलम्बन गरेको मन्त्री भण्डारीले बताए ।

उनका अनुसार निरक्षर वा कम शिक्षित चालकहरूलाई लिखित परीक्षा लाइसेन्सका लागि ‘अवरोध’ बनेको पाइएकाले सरकारले उक्त प्रावधान हटाएको हो । मन्त्री भण्डारी स्वयं कार्यक्रममा उपस्थित भई चालकहरूलाई व्यावहारिक सन्देश दिन सक्रिय छन् । ‘लाइसेन्स र ब्लुबुक नहुँदा दुर्घटना भएर मान्छे म¥यो वा अपांग भयो भने जेल जानुपर्छ,’ भन्दै उनले चालककै हितका लागि लाइसेन्स लिने प्रक्रियालाई खुकुलो बनाइएको बताए ।

‘लिखित परीक्षा र फाराम भर्ने झन्झट हटाइएको छ । आयकर पूर्ण रूपमा माफी गरिएको छ । आवश्यक प्रक्रियामा यातायातकै कर्मचारीले सहयोग गरिदिन्छन् । अब लाइसेन्स वा ब्लुबुकका नाममा ई–रिक्साका चालकले कुनै बहाना गर्ने ठाउँ छैन,’ भण्डारीले भने, ‘फारम भर्ने नाममा दलाललाई पैसा दिनु पर्दैन । यातायात कार्यालयमा पुग्दा कर्मचारीले नै फराम भरेर बुझाइदिन्छन् । नीति कार्यान्वयनप्रति सरकार गम्भीर छ ।’

यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहालले पनि नियमनको उद्देश्य दण्ड नभएर सुरक्षित र व्यवस्थित यातायात भएको बताए । ‘सफारी चालकलाई लक्षित गरेर सडकमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । अब थप कडाइ गरिने छ । लाइसेन्स नभएकाले भाग्न वा टार्न पाउने छैनन्,’ उनले भने ।

दाहालले सफारी दुर्घटनाको प्रमुख कारण लाइसेन्सविहीन चालक, बिमाविहीन तथा जाँचपास नभएको सवारी र ब्लुबुक नवीकरण नगरेको अवस्था भएको उल्लेख गरे । बिमा नहुँदा दुर्घटनापछि क्षतिपूर्ति र उपचार खर्चको सम्पूर्ण भार चालककै काँधमा पर्ने यथार्थ पनि उनले औँल्याए ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले यस अभियानलाई यात्रु सुरक्षा र सडक सुशासनसँग जोडेर व्याख्या गरेका छन् । लाइसेन्स र ब्लुबुक भएका चालकलाई मात्रै ‘सुरक्षित चालक, सुरक्षित यात्रा’ लेखिएको ज्याकेट (पोसाक) वितरण गरिने र पोसाकधारी चालकले मात्र सीटी सफारी चलाउन पाउने व्यवस्था लागू गरिने जानकारी उनले दिए । पोसाक लगाउँदा टाढैबाट आधिकारिक चालक चिन्न यात्रुलाई सजिलो हुने न्यौपानेको भनाइ छ ।

नेपाली नागरिकले मात्रै लाइसेन्स पाउने कानुनी व्यवस्था भएकाले भारतीय नागरिकले अवैध रूपमा सीटी सफारी चलाउने परिपाटी स्वतः अन्त्य हुने उनले बताए । यो अभियानलाई प्रशासनिक कडाइसँगै सफारी सञ्चालनमा देखिएको दीर्घकालीन संरचनागत समस्याको समाधानका रूपमा हेरिएको छ ।

‘विकल्प एन अल्टरनेटिभ’ संस्थाले गरेको विस्तृत सर्वेक्षणले कोशी प्रदेशको राजधानी विराटनगरमा मात्रै ८४.०३ प्रतिशत सीटी सफारी चालकसँग लाइसेन्स नभएको तथ्य उजागर गरेको थियो । ८९ प्रतिशत निरक्षर चालकहरूले लिखित परीक्षा पास गर्न नसक्नु र प्राथमिक तहसम्म पढेकामध्ये पनि ८५ प्रतिशतभन्दा बढीले लाइसेन्स नपाउनु नीतिगत असफलताको स्पष्ट संकेत थियो । जसका कारण सफारी चालकहरू कानुनी वैधता, बिमा र न्यूनतम सुरक्षा घेराबाहिर थिए ।

बिना लाइसेन्स सवारी चलाउँदा दुर्घटना भए बिमा दाबी गर्न नपाइने अवस्थाले दैनिक ज्यालामा गुजारा चलाउने परिवारलाई गम्भीर आर्थिक संकटमा धकेल्ने गरेको अध्ययनले देखाएको छ । एउटा सानो दुर्घटनाले उपचार खर्च, सवारी मर्मत, जरिबाना र क्षतिपूर्तिको भार थपिँदा धेरै परिवार ऋणको चक्रमा फस्ने गरेको सामाजिक अभियन्तासमेत रहेका विकल्प एन अल्टरनेटिभका संस्थापक वसन्त अधिकारीको भनाइ छ । अध्ययनले बालबालिका विद्यालय छाड्न बाध्य हुने, उच्च ब्याजमा अनौपचारिक ऋण लिनुपर्ने र गरिबी पुस्तान्तरण हुने अवस्थासमेत औँल्याएको अधिकारीले बताए ।

कोशी प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली दोस्रो संशोधन गर्दै ई–रिक्सा चालकका लागि लिखित परीक्षा हटाउने ऐतिहासिक निर्णय गरेको छ । अब चालकलाई करिब ३० देखि ६० मिनेटको अनिवार्य व्यावहारिक तालिम, ट्राफिक संकेत, सडक सुरक्षा, यात्रु सुरक्षा, सवारी मर्मत र कानुनी दायित्वसम्बन्धी आधारभूत ज्ञान दिएर ट्रायल परीक्षा मात्रै लिइनेछ ।

मन्त्री भण्डारीले मानिसलाई सडकबाट हटाउने नभएर सुरक्षित बनाउने कानुनको उद्देश्य भएको स्पष्ट पार्दै सिप र व्यवहारमा आधारित मूल्यांकन नै समाधान भएको बताए । कोशी प्रदेशमा करिब ६० हजार हाराहारी सीटी सफारी रहेको अनुमान आन्तरिक मामिला तथा कानुन मन्त्रालयको छ । यति ठूलो संख्यालाई कानुनी दायराभित्र ल्याउनु भनेको ट्राफिक व्यवस्थापन मात्रै नभएर बिमा प्रणाली, आर्थिक संरचना, यात्रु सुरक्षा र सडक सुशासन सुधारको आधार तयार गर्नु भएको भण्डारीको भनाइ छ ।

सडकमा चालकलाई भेला पारेर दिइएको सन्देश, मन्त्री, यायातायका प्रमुख र कर्मचारीदेखि ट्राफिक प्रमुखसम्मको प्रत्यक्ष उपस्थिति एवं सहभागिताबाट व्यवहारमै देखाइएको सहजीकरणले सफारी लक्षित अभियान कागजी मात्रै नभएर कार्यान्वयनमुखी हुने संकेत दिएको छ । कार्यक्रममा सहभागी भएका सीटी सफारी चालकहरूले पनि विगतमा लिखित परीक्षाका कारण लाइसेन्स लिन नसकेको गुनासो पोख्दै अब नयाँ व्यवस्थाअनुसार अनिवार्य रूपमा लाइसेन्स लिएर मात्रै सफारी चलाउने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सरकारको नयाँ अभियानले नेपालमा प्रवेश गरेर भारतीयले अवैध रूपमा सफारी चलाउने परिपाटी अन्त्य हुने भएको छ । त्यति मात्रै नभएर नेपाली चालकहरुले आम्दानी सुरक्षित हुने आशा पनि व्यक्त गरेका छन् ।

सीटी सफारी अब कोशी प्रदेशका सहरहरूमा सस्तो र सहज यातायातको साधनसँगै कानुनी, सुरक्षित एवं उत्तरदायी सार्वजनिक सवारीका रूपमा स्थापित हुने दिशामा अघि बढ्दैछ । अभियानलाई सफल बनाएर सडक दुर्घटना न्यूनीकरण, यात्रु सुरक्षाको प्रत्याभूति र हजारौँ श्रमिक परिवारको जीवनमा स्थायित्व ल्याउने उद्देश्य प्रदेश सरकारको रहेको जानकारी मन्त्री भण्डारीले दिए ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×