
विराटनगर । टेबलमाथि पैसाको थुप्रो र वरिपरि किसान खुसी मुद्रामा हिसाबकिताब गर्न बसेको अहिले तस्बिर सामाजिक सञ्जाल भाइरल भइरहेको छ ।
सोमबार बिहानबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्बिर संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलास्थित गोगनेका किसानको हो । सामूहिक अलैँची खेचीको आम्दानी बाँडफाँटका लागि किसान भेला भएको बेला खिचिएको तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
अलैँचीले उच्च मूल्य पाएसँगै यो वर्ष गोगनेका किसानले सामूहिक खेतीबाट १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेका छन् । किसासनले ९८ हजार रूपैयाँ प्रतिमन (१ मनमा ४० किलो)का दरले १ सय १९ मन अलैँची बेचेको वडा सदस्य हेमराज राईले बताए ।
उनका अनुसार हेर्दा पैसाको थाक देखिए पनि किसानले सहजै आम्दानी गरेका भने होइनन् । खेतीका लागि लगानी र मेहनत पनि पर्याप्त गरेका छन् । ‘बाहिरबाट पाइपमा पानी ल्याएर फिरफिरेमार्फत पानी पटाउनु पर्छ । वर्षमा ४ पटक गोड्नु पनि पर्छ । यो वर्ष अलैँचीले भाउ राम्रो पायो,’ उनले भने ।
उनका अनुसार किसानले सामुदायिक वनको जग्गा भाडामा लिएर सामूहिक अलैँची खेती गरेका छन् । त्यसबाहेक व्यक्तिगत खेती पनि गरेका छन् । ‘यो वर्ष भाउ राम्रो आयो । हाम्रो वडाका किसानले १० करोड रूपैयाँभन्दा बढीको अलैँची बेच्नु भएको छ,’ राईले भने, ‘गोगनेमा १२–१३ जनाजतिको अलग–अलग समूह बनाएर खेती गर्नु भएको छ । गोगनेमा ४६ परिवार हुनुहुन्छ ।’
उनका अनुसार बनको जग्गा भाडामा लिएर व्यावसायिक खेती सुरु गरेको ४–५ वर्ष भयो । यसरी खेती गर्दा किसानको आम्दानी बढेको छ छ ।
सामूहिक खेतीका लागि किसानले आफ्नो जिम्मेवारी पनि बाँडफाँट गरेका छन् । बाँडफाँट गरिएको दायित्व किसानले पूरा गर्छ । यदि पूरा गर्न नसके दैनिक हर्जाना तिर्नुपर्छ । सामूहिक खेतीले किसानको आर्थिक अवस्थामा सुधार पनि ल्याएको वडा सदस्य राईले बताए ।


























