५ सन्तानका धनी जागेश्वर दम्पती: बुढेसकालमा ओत लाग्ने न छाना, न त छोराछोरीको साथ

मुलुकी खबर
रविन्द्र बराल
clock२०८२ पुष १६, बुधबार ०९:२७

मोरङ । मोरङको सुनबर्सी नगरपालिका-८ स्थित बुधबारी चोक नजिकै विगत ८० वर्षदेखि ५ धुर जग्गामा बसोबास गर्दै आइरहेका जागेश्वर कामत र उनकी श्रीमती फूलदेवी कामत यतिबेला वृद्ध अवस्थामा बिचल्लीमा परेका छन् । उनीहरूको पालनपोषण गर्ने कोही नहुँदा जीवन कष्टकर बनेको हो ।

श्रीमान् शारीरिक रूपमा अस्वस्थ भएका कारण अहिले दुई छाक टार्नसमेत मुस्किल परिरहेको फूलदेवीले बताइन् । उनीहरूका ३ छोरा र २ छोरी भए तापनि वृद्ध बाबुआमालाई कसैले हेरविचार नगरेको उनीहरूको दुखेसो छ । बाबुआमाले दुःख गरेर हुर्काए पनि बुढेसकालमा सहारा विहीन भएर बस्नुपर्दा उनीहरू निकै मर्माहत छन् । ‘छोराछोरीको मन ढुङ्गामुढा, बाबुआमाको मन सन्तानमाथि’ भन्ने भनाइ यतिबेला उनीहरूको जीवनमा मेल खाएको छ ।

Advertisement

जागेश्वरका छोराहरू नरेश, गणेश र दिनेश कामत सोही गाउँमै बसोबास गर्छन् । तर, कुनै पनि छोराले फर्केर नहेरेको र भारतको दिल्ली तथा गोविन्दपुरमा रहेका दुई छोरीहरू पनि हालसम्म भेट्न नआएको उनीहरूले बताए ।

उनीहरू बाँसको टाटी र टिनको छाना भएको सानो झुपडीमा बस्छन् । वर्षाको समयमा छानाबाट पानी चुहिएर घरभित्रै धारा बग्छ भने जाडोमा चिसो भुइँमा सामान्य लुगा ओछ्याएर रात बिताउन उनीहरू बाध्य छन् । घरको सानो कुनामा चिया पसल सञ्चालन गरे पनि त्यसबाट पर्याप्त आम्दानी हुँदैन ।

घरखर्च चलाउन कहिले गहुँको सिला खोज्ने त कहिले धानको बीउ उखेलेर गुजारा गरिरहेको उनीहरू बताउँछन् । घरखर्चका लागि गाउँमा लिएको १० हजार रुपैयाँ ऋण समेत तिर्न नसकेको र ज्याला मजदुरीबाट आएको थोरै पैसाले ऋणको ब्याज र नुनतेल जुटाउनै मुस्किल परेको फूलदेवीले बताइन् । हालसम्म वडा कार्यालय वा अन्य कतैबाट कुनै पनि सहयोग नपाएको उनीहरूको गुनासो छ ।

यस्तो विपन्न र असहाय परिवारलाई मनकारी हातहरूको सहयोगको निकै खाँचो देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.