
बिर्तामोड । झापा गोल्डकपको सातौँ संस्करणको मिति नजिकिँदै गर्दा आयोजक संस्थामा नयाँ सदस्यता लिने खेलप्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको छ। बुधबार मात्रै कार्यसमिति सदस्य शैलेन्द्र कुरुम्बाङको पहलमा २३ जनाले संस्थाको नयाँ सदस्यता लिएका छन्।
गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच कार्यवाहक अध्यक्ष गजेन्द्रबहादुर पौडेलले नयाँ सदस्यहरूलाई सदस्यता रसिद प्रदान गरे। सातौँ संस्करणको तयारी सुरु भएयता हालसम्म ६५ जनाभन्दा बढी नयाँ सदस्य थपिएको आयोजकले जनाएको छ। नयाँ सदस्यहरूको आगमनले आयोजक परिवार थप उत्साहित भएको अध्यक्ष केदार गिरीले बताए।
स्वर्गीय विनोद बस्नेत स्मृति झापा गोल्डकपको यस संस्करण आगामी माघ २४ गतेदेखि फागुन ४ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुँदैछ। यसपटकको प्रतियोगितामा नेपाल, भारत र भुटानका प्रतिष्ठित फुटबल क्लबहरूबीच प्रतिस्पर्धा हुने बताइएको छ।
झापा गोल्डकपको सचिवालयका अनुसार नयाँ सदस्यता वितरणसँगै पुराना सदस्यहरूको नवीकरण कार्यलाई पनि तीव्र रूपमा अगाडि बढाइएको छ। मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा चिनिने यस गोल्डकपले झापाको खेलकुद पर्यटनमा ठूलो योगदान पुर्याउँदै आएको छ।



















