
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो सुधार देखिएको छ। दिनभरजसो रातो देखिएको बजार अन्तिम आधा घण्टामा सम्हालिएर ४.५९ अंकको वृद्धिसहित २६४० विन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही गिरावट आएको छ। बुधबार ५ अर्ब १७ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज बजारमा कुल १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ। उपसमूहगत रूपमा हेर्दा सबै सूचकहरूको उतारचढाव १ प्रतिशतभन्दा कम नै सीमित रह्यो। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि देखिएको छ। अर्कोतर्फ फाइनान्स, लगानी, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको सूचक भने केही ओरालो लागेका छन्।
आज सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै एसवाई प्यानल, खानीखोला हाइड्रोपावर र श्रीनगर एग्रिटेकका लगानीकर्ताले पनि कमाएका छन्। सर्वाधिक गुमाउनेमा सुपर मादी हाइड्रोपावर रहेको छ जसको मूल्य ३.९ प्रतिशतले घटेको छ। इङवा हाइड्रोपावर र गणपति लघुवित्तको मूल्यमा पनि गिरावट देखिएको छ। धेरै कारोबार हुने कम्पनीहरूमा एसवाई प्यानल, बन्दीपुर केबुलकार र सान्भी इनर्जी अग्रस्थानमा रहेका छन्।

























