
काठमाडौं । क्यासिनोमा प्रवेश गरी २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको सम्पूर्ण विवरण क्यासिनो सञ्चालकले अनिवार्य रूपमा संकलन गरी सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।
पर्यटन विभागले क्यासिनो व्यवसायीका लागि जारी गरेको निर्देशनलाई संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । विभागका अनुसार क्यासिनोमा हुने आर्थिक कारोबारलाई थप पारदर्शी, उत्तरदायी र कानुनअनुकूल बनाउन उक्त व्यवस्था गरिएको हो ।
क्यासिनोमा ठूलो परिमाणमा हुने नगद तथा अन्य वित्तीय कारोबारलाई व्यवस्थित निगरानीमा राख्ने उद्देश्यले ग्राहक विवरण संकलन अनिवार्य गरिएको विभागको स्पष्टोक्ति छ । संशोधित निर्देशनअनुसार क्यासिनोमा खेल्ने क्रममा कुनै पनि ग्राहकले १ पटक वा क्रमिक रूपमा २ लाख रुपैयाँभन्दा बढी खर्च गरेमा उनीहरूको परिचय खुल्ने विवरण, खर्चको प्रकृति र सम्बन्धित अभिलेख राख्नुपर्नेछ ।
यसले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हुन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विभागको विश्वास छ । पर्यटन विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा पर्यटन ऐन, २०३५ (संशोधनसहित)ले दिएको अधिकार प्रयोग गर्दै यस्तो निर्देशन जारी गरिएको जनाएको छ ।
विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणसम्बन्धी जोखिमलाई ध्यानमा राख्दै क्यासिनो व्यवसायीलाई स्पष्ट दायित्व तोकिएको हो । विभागले संशोधित निर्देशन तत्कालै लागू हुने पनि जनाएको छ ।
अब क्यासिनो सञ्चालकहरूले तोकिएको मापदण्ड पालना नगरे कानुनअनुसार कारबाही हुन सक्ने संकेतसमेत विभागले गरेको छ । यस व्यवस्थाबाट क्यासिनोको वित्तीय अनुशासन बलियो हुने र राज्यका नियामक निकायलाई निगरानी गर्न सहज हुने अपेक्षा गरिएको छ ।

























