
काठमाडौं । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटअघि भएको अभ्यास खेलमा अमेरिकालाई हराउँदै नेपालले जित निकालेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ४ विकेटको पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ थालेको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो ।
अमेरिकाका लागि इला क्लारिजले ३९, पूजा गणेशले २२, कप्तान अदितिबा चुडासमाले १९, तारा नोरिसले अविजित १८, ऋतु सिंह र दिशा धिङ्ग्राले १४–१४ तथा गार्गी भोगले १० रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले २ तथा रचना चौधरी, कविता जोशी, रिया शर्मा र कविता कुँवरले समान १–१ विकेट लिएका थिए ।
१ सय ५८ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।नेपालका लागि सम्झना खड्काले ४९, पूजा महतोले अविजित ४३, काजल श्रेष्ठले २८, कविता जोशीले १२ र विन्दु रावलले १० रन बनाए । अमेरिकाका लागि तारा नोरिस र लेखा सेट्टीले २–२ विकेट लिए ।

























