
काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ। सोमबार करिब ५ अङ्कले घटेको बजार मंगलबार सोही अनुपातमा बढ्दै २६३९.९१ विन्दुमा बन्द भएको हो। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.९० अङ्कले उकालो लागेको छ।
मंगलबार बजार खुलेको सुरुवाती समयमा नेप्से करिब २० अङ्कसम्म बढेको भए पनि मध्य समयमा आएको दबाबका कारण वृद्धि दर खुम्चिएको थियो। नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि उत्साहजनक सुधार देखिएको छ। सोमबार ६ अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा मंगलबार ५० करोडभन्दा बढीले वृद्धि भई कुल ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज ३४९ कम्पनीका ७७ हजारभन्दा बढी पटकको कारोबारबाट १ करोड ३६ लाख २४ हजार कित्ता सेयर खरिद–बिक्री भएका छन्।
बजारलाई सकारात्मक बनाउन जलविद्युत् (हाइड्रोपावर) समूहको मुख्य भूमिका रह्यो। आज कारोबार भएका ११८ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। थ्रिस्टार जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने दोर्दी खोला जलविद्युत्को मूल्य ९.३८ प्रतिशतले वृद्धि भएको छ। समूहगत सूचकतर्फ जलविद्युत् १.०२ प्रतिशत र व्यापार समूह ०.९८ प्रतिशतले बढ्दा अन्य, विकास बैंक र निर्जीवन बीमा समूह पनि हरियो देखिएका छन्। यद्यपि, होटल, बैंकिङ, जीवन बीमा र लघुवित्त समूहका सूचक भने ओरालो लागेका छन्।
पछिल्लो समय बैंकको ब्याजदर घटे पनि राजनीतिक अस्थिरता र आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको अन्योलताले लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्। आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा राधी जलविद्युत् (५४ करोड ६५ लाख), एसवाई प्यानल (३४ करोड ८१ लाख) र बुटवल पावर कम्पनी (२८ करोड १३ लाख) अग्रस्थानमा रहेका छन्।

























