
झापा । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा संघद्वारा स्थापित ‘व्यवसायी सदस्य राहत कोष’ का लागि आर्थिक सहयोग प्रदान गरेका छन्। व्यक्तिगत उत्सवलाई व्यवसायी समुदायको हित र एकताको सन्देशसँग जोड्दै उनले २१ हजार रुपैयाँ सहयोग गरेका हुन्।
संघको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरे। आपत्–विपद्, आकस्मिक दुर्घटना वा असहज परिस्थितिमा परेका व्यवसायीहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यो कोषलाई व्यवसायीहरूको साझा सुरक्षा कवचका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
सहयोग रकम ग्रहण गर्दै संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषलाई १ करोड रुपैयाँसम्म पुर्याउने दीर्घकालीन लक्ष्य रहेको जानकारी दिए। उनले यो कोष सम्पूर्ण व्यवसायीहरूको साझा सम्पत्ति भएको उल्लेख गर्दै कोष वृद्धिका लागि व्यवसायीहरूको एकता र निरन्तर सहयोग अपरिहार्य रहेको बताए। यसअघि पनि विभिन्न दाताहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको भन्दै उनले आगामी दिनमा अझ व्यापक सहभागिताको अपेक्षा राखेका छन्।
कोष वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संघले पूर्व अध्यक्ष भट्टराईलाई कदरपत्रद्वारा सम्मान समेत गरेको छ। व्यवसायी हितका सवालमा सधैं सक्रिय रहँदै आएका भट्टराईको यस कार्यलाई स्थानीय व्यवसायी समुदायले सकारात्मक उदाहरणका रूपमा लिएका छन्।
उक्त कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईसहित विभिन्न क्षेत्रका व्यवसायीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कठिन समयमा व्यवसायीलाई साथ दिनु नै संघको मुख्य दायित्व भएको धारणा व्यक्त गरे। कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए।

























