
झापा । जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन ४, ५ र ६ गते गौरादहमा आयोजना हुने भएको छ। झापा जिल्ला खेलकुद विकास समितिको आयोजना र गौरादह नगरपालिकाको संयोजनमा हुन लागेको यो प्रतियोगिता गौरादह-१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिनेछ।
प्रतियोगिताको तयारीका विषयमा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी र खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतको उपस्थितिमा बैठक बसी आवश्यक निर्णयहरू गरिएको छ।
यस प्रतियोगितामा जिल्लाका १५ वटै पालिकाबाट छनोट भएर आएका १८ वर्षमुनिका करिब १५ सय छात्र-छात्रा खेलाडीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगितामा कराते, तेक्वान्दो, कबड्डी, उसु, भलिबल र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएको छ। सबै पालिकाहरूले माघ २८ गतेभित्र पालिकास्तरीय छनोट सकेर खेलाडीहरूको विवरण जिल्ला समितिमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ।
अघिल्ला तीनवटा संस्करणमा लगातार उपाधि जितेर अर्जुनधारा नगरपालिकाले ह्याट्रिक गरिसकेको सन्दर्भमा यस पटकको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। यहाँबाट छनोट हुने उत्कृष्ट खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्नेछन्।

























